रामेछापमा विद्युत् आउने र जाने समस्याले उपभोक्ता मारमा

  • प्रकाशित मिति: सोमबार, बैशाख १५ २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा केही दिनदेखि पटक÷पटक विद्युत् आउने र जाने समस्या देखिएको छ । विशेष गरी साँझको समयमा धेरै पटक विद्युत् जाने र आउने समस्याले सेवाग्राही मारमा परेका छन् ।
खाना पकाउने र खाने समयमा लोडसेडिङ नै भए जसरी पटक÷पटक बिजुली आउने र जाने समस्या रहेको मन्थली नगरपालिका–९ पुरानागाउँका राज श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो “हिजो आज के भएको हो । दैनिक चाहिने समयमा बिजुली बत्तीको भर छैन । केही दिनदेखि लोडसेडिङ नै भएको जसरी बिजुली आउने जाने भइरहेको छ । कुलमान घिसिङ हटेपछि पहिलाकै जस्तो लोडसेडिङ हुन्छ भन्थे । हो कि क्या हो ।”
विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा सूचना सम्प्रेषण गर्ने महत्त्वपूर्ण माध्यम रेडियोहरू बढी मारमा परेको रेडियो इनर्जी १०६.२ मेघाहर्जका सञ्चालक लेखबहादुर विकले बताउनुभयो । यसरी पटक पटक विद्युत् आउने जाने गर्दा रेडियोहरूका विभिन्न सामाग्रीहरू जल्ने समस्या भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो“पहिला देखिनै सामान्य पानी पर्दा तथा हावा चल्दा पनि विद्युत् जाने समस्या त थियो नै । अहिले त्यो समस्या झन् बढेको छ । केही दिनदेखि नियमित जस्तै साँझको समयमा विद्युत् सेवा अवरुद्ध हुन्छ । यसरी पटक पटक विद्युत् जाने आउने हुँदा रेडियोहरूले क्षति व्यहोर्नु परेको छ ।”
ढल्केबर सबस्टेसनमा आगलागीबाट ट्रान्सफर्मर लगायतका सामाग्रीमा ठुलो क्षति भएपछि पिक आवरमा समस्या हुने गरेको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्र मन्थलीका प्रमुख दीपेन्द्र बुढाथोकीले बताउनुभयो । हावा हुरी सहितको वर्षाका कारण केही ठाउँमा रुख ढल्दा पनि समस्या भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो“यही वैशाख ४ गते ढल्केबर सबस्टेसनमा ठुलो आगलागी भयो । ट्रान्सफर्मर लगायतका सामानहरू जलेर ध्वस्त भए । ढल्केबरको आपूर्ति बन्द भएपछि सिन्धुलीको सबै क्षेत्र लगभग बर्दिबास सम्म नै मन्थलीबाट विद्युत् सप्लाई भइरहेको छ । यसले गर्दा केही समस्या भएको हो ।”
पिक टाइममा मन्थलीको १६० देखि १७० एमपिएरको क्षमता रहेकोमा अहिले ९५ प्रतिशतको रेसियोमा चलिरहेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा अलिकति बढी माग भएमा ओभर लोड हुँदा समस्या आइरहेको उहाँले बताउनुभयो । ढल्केबर सबस्टेसनमा क्षति भएको ट्रान्सफर्मर लगायतका सामाग्रीहरू बनिसकेको भन्ने खबर आएकाले अबको केही दिनपछि समस्या समाधान हुने उहाँले बताउनुभयो ।