रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालले महिला तथा स्त्री रोग विशेषज्ञ सेवा सञ्चालन गरेको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा अस्पतालले एक हप्ते विशेषज्ञ सेवा सुरु गरेको हो । सो सेवा सोमबारबाट सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो“ महिला विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा दिइरहेको छ । महिलाहरूको पाठेघर खस्ने, मूत्र थैली झर्ने, दिसा गर्ने भाग तल खसेको समस्याको शल्यक्रिया मार्फत उपचार भइरहेको छ । शुक्रवारसम्म चल्ने शिविरमा करिब ५० जना महिलाको शल्यक्रिया गर्ने लक्ष राखिएको छ ।”
यो शिविरमा ट्युमर पलाएको, पाठेघरमा पानीका फोकाहरू भएका महिलाहरूको पनि शल्यक्रिया मार्फत उपचार भइरहेको उहाँले बताउनुभयो । पहिलो दिन सोमबार पाँच जना महिलाको अप्रेसन भएको पनि उहाँले बताउनुभयो । अप्रेसन गर्ने सबै महिलाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
लामो समयदेखि पाठेघर खस्ने समस्या भएकाले शिविर आएको खण्डमा शल्यक्रिया गराएको मन्थली नगरपालिका–१२ गेलुकी स्वास्थ्य स्वयंसेवीका विमला कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो“अहिले पनि धेरै महिलाले रोग लुकाएर बसेका छन् । मैले पनि १५ वर्षदेखि पाठेघर खस्ने समस्या हुँदा रगत, पिप बगेर धेरै सास्ती खेप्नुप¥यो । सबैलाई उपचारको लागि आउन आग्रह गर्दछु ।”
मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट सञ्चालन गरिरहेको छ । यो अवधिमा मन्थली अस्पतालले सेवा ग्राहीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न विभिन्न सेवाहरूको विस्तार गर्दै लगेको छ । अहिले दैनिक २०० भन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेला लिइरहेका छन् । मन्थली अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।
यो अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गर्न बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा उल्लेख गरेको भए पनि अझै प्रक्रिया सुरु हुन सकेको छैन ।
मन्थली नगरपालिका भने पालिका र प्रदेश सरकारको ५०÷५० प्रतिशत दायित्वमा भए पनि प्रादेशिक अस्पताल बनाउन लागि परेको छ ।
