रामेछाप । रामेछापका विभिन्न राजनीति दलका नेताहरूले गैरसरकारी संघ संस्थाहरूले सञ्चालन गर्ने काम उपलब्धिमूलक हुनुपर्नेमा जोड दिएका छन् ।
सदरमुकाम मन्थलीमा बिहीबार जिल्ला समन्वय समिति रामेछापको आयोजनामा भएको विकास सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी विभिन्न दलका नेताहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने परियोजनाहरू उपलब्धिमूलक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रमहरू पारदर्शी हुनुपर्छ ।
हरेक कार्यक्रममा सुशासन कायम हुनुपर्छ । काम गर्दा दोहोरोपना र समन्वयमा गैरसरकारी संस्थाहरूले ख्याल गर्नुपर्ने देखिन्छ। परियोजनाहरू उपलब्धिमूलक हुनुपर्छ ।”
नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले गैरसरकारी संस्थाले सञ्चालन गर्ने परियोजनाहरू प्रतिफल देखिने खालको हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो“ हिजो गैरसरकारी संस्थाले सरकारकै हिस्सा ओगट्ने गरी काम गरेकै हो । आज अवस्था त्यस्तो छैन । अहिले गैरसरकारी संस्थाहरू खुम्चिएको छ । यो अवस्थामा इमानदार भएर राम्रो काम गर्नुपर्छ ।” स्थानीय सरकारले आफ्नो वार्षिक योजना तथा कार्यक्रम बनाउँदा गैरसरकारी क्षेत्रलाई पनि समेटेर बनाउनुपर्ने उहाँको सुझाव छ ।
लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले गैरसरकारी संस्थाहरूले समाजका लागि गर्ने काम इमानदार भएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । समाजले महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसक्ने गैरसरकारी संस्था स्थानीय सरकारलाई आवश्यक नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले गैरसरकारी संस्थाले सञ्चालन गर्ने परियोजनाहरू पारदर्शी र परिणाममुखी हुनुपर्ने बताउनुभयो । धेरै गैरसरकारी संघ संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम र बजेटबारे सरोकारवाला निकायलाई समेत जानकारी नहुने गरेको उहाँको भनाइ छ ।
बागमती प्रदेशका सांसद एवं प्रदेश उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठले कुनै समय गैससहरुको समाज विकासका लागि राम्रो उपस्थित रहेको बताउनुभयो । अहिले पनि धेरै गैरसरकारी संस्थाहरूले राम्रो काम गरिरहेकाले अझ राम्रो काम गर्न सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरेर अगाडी बढ्नुपर्ने उहाँको सुझाव छ ।
कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीको अध्यक्षता र बागमती प्रदेशका सांसद एवं प्रदेश उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा रामेछाप जिल्लामा काम गरिरहेका गैरसरकारी संस्थाहरू आफूले गरिरहेको परियोजना र प्रगतिका बारेमा परियोजना संयोजकहरूले जनाकारी गराएका थिए ।