तीनकुने घटनाको छानबिन गर्न विज्ञ टोली गठन गर्नुपर्ने रामेछापका मिडिया सञ्चालकहरूको निष्कर्ष

  • प्रकाशित मिति: बिहिबार, बैशाख ४ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापका मिडिया सञ्चालकहरूले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि विज्ञ टोली गठन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा सञ्चालित रेडियो, पत्रिका तथा अनलाइनका सञ्चालकहरूसँग बिहीबार गरेको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।



पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य नवराज पथिकको उपस्थितिमा भएको छलफलले पत्रकार रजकलाई सहिद घोषणा गरि रजकको परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

यस्तै तीनकुने घटनाबारे सरकारले विज्ञ टोली गठन गरी निष्पक्ष छानबिन गर्नुपर्ने , क्षति भएका सञ्चार गृहमा क्षतिको यकिन गरी तत्काल उचित क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दीपक कुमार घिमिरेले बताउनुभयो ।

गत चैत १५ गते काठमाडौँको तीनकुने स्थित एक घरबाट भिडियो खिचिरहेका पत्रकार सुरेश रजकलाई घरभित्र थुनी आगो लगाएर हत्या गरिएको थियो । त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकको कार्यालय र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याइएको थियो । हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरोज तामाङको क्यामेरा लुटिएको लगायतका घटना भएका थिए ।

पत्रकार महासंघ केन्द्रीय समितिले घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै तय गरेको दोस्रो चरणको कार्यक्रम अनुसार अहिले देशभरका पत्रकार महासंघ आन्दोलित भएका छन् ।