रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा सञ्चालित रेडियोका स्टेसन म्यानेजर तथा समाचार प्रमुख र पत्रिका तथा अनलाइनका सम्पादकहरूसँग छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत रामेछाप शाखाले मङ्गलवार छलफल गरेको हो । पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य नवराज पथिको उपस्थितिमा भएको छलफलले विभिन्न पाँच बुँदे निष्कर्षहरु निकालेको छ ।
छलफलले पत्रकार रजकको हत्या भएको घटनमा विज्ञ टोलीको गठन गरी निष्पक्ष छानबिन हुनुपर्ने, पत्रकार रजकलाई सहिद घोषणा गरिनुपर्ने निष्कर्ष निकालेको छ । त्यसै गरी पत्रकार रजकको परिवारलाई राज्य र रजक कार्यरत मिडिया हाउसले पनि उचित क्षतिपूर्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने, पछिल्लो समय मिडिया र पत्रकारको सुरक्षाको चुनौती बढेकाले राज्यले मिडिया र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पत्रकार सुरेश रजकको नामबाट राज्यले स्मृति कोषको स्थापना गरी सञ्चालन गर्नुपर्ने पनि छलफलले निष्कर्ष निकालेको नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दीपक कुमार घिमिरेले बताउनुभयो ।
गत चैत १५ गते काठमाडौँको तीनकुने स्थित एक घरबाट भिडियो खिचिरहेका पत्रकार सुरेश रजकलाई घरभित्र थुनी आगो लगाएर हत्या गरिएको थियो । त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकको कार्यालय र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याइएको थियो । हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरोज तामाङको क्यामेरा लुटिएको लगायतका घटना भएका थिए ।
पत्रकार महासंघ केन्द्रीय समितिले घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै दोस्रो चरणको आन्दोलन घोषण गरे अनुसार अहिले देशभरका पत्रकार महासंघ आन्दोलनमा होमिएका छन् ।