रामेछाप । चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिना बितिसकेको छ । रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले साढे आठ महिना अर्थात् गत साउनदेखि चैत १५ गतेसम्म ४२ प्रतिशत योजनाको काम सम्पन्न गरेको छ । २० प्रतिशत योजनाहरूको अझै सम्झौता हुन सकेको छैन ।
साना ठुला गरी चालु आर्थिक वर्षमा ५६० वटा योजना सम्पन्न हुनुपर्नेमा ४४९ वटाको सम्झौता भई २४० वटाको काम सम्पन्न पश्चात् भुक्तानी भएको नगरपालिकाको पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्ली बहादुर अधिकारीले बताउनुभयो ।
उहाँले नगरपालिकामा यो वर्ष वडा सिलिङका ३५०, नगर स्तरीय नौ, साना पूर्वाधारका ३६, साना सिँचाइका १५, ठेक्काबाट बचेका आठ, प्रधानमन्त्री स्वरोजगार तर्फका नौ, विशेष÷समपूरक तर्फका छ, नगरपालिका र वडाको ७०÷३० साझेदारीका १७ वटा योजनाहरू रहेका बताउनुभयो । त्यसै गरी बालमैत्री स्थानीय शासनयुक्त नगर तर्फका ५९, सडक बोर्डको चार, प्रदेश÷सङ्घ सशर्त नौ र विपद् सम्बन्धी २९ वटा योजना यो वर्ष सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्ष मन्थली नगरपालिकामा पूर्वाधार विकास तर्फ २२ करोड २६ लाख रुपैयाँ भन्दा बढी बजेटको योजनाहरू बनेका छन् । चैत १५ गतेसम्म जम्मा बजेटको ३०.४१ प्रतिशत अर्थात् ६ करोड ७२ लाख रुपैयाँ प्रगति भएको उहाँले बताउनुभयो । प्रदेश सरकारको समपूरक तीन वटा, प्रदेश सरकारको सशर्त अनुदानको पाँच वटा र नगर वडा साझेदारी १० वटा गरी १८ वटा ठुला योजना नगरपालिकाले बोलपत्र आह्वान गरेको उहाँले बताउनुभयो ।