पत्रकारको हत्या र प्रेसमाथिको आक्रमणको विरोधमा रामेछापमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

  • प्रकाशित मिति: बुधबार, चैत्र २६ २०८१
  • तामाकोशी

रामेछाप । पत्रकार सुरेश रजकको हत्या र प्रेसमाथिको आक्रमणको विरोधमा रामेछापमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा बुधवार सmसाँझ सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा भएको हो ।



नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, रामेछाप शाखाका निवर्तमान अध्यक्ष बद्री नयाँ घरे, पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विक, समाजवादी प्रेस संगठन रामेछापका अध्यक्ष कैलाश खत्री लगायत रामेछापका पत्रकारहरूले रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा दीप प्रज्वलन गरेर स्व. रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यही चैत १५ गते शुक्रवार राजावादी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले काठमाडौँको तीनकुने स्थित एक घरमा आगो लगाएर समाचार सङ्कलनका लागि भिडियो खिचिरहेको बेला एभिन्यूज खबरकर्मीको हत्या गरेका थिए । आगोमा जलाएर पत्रकारको हत्या गरिएको र प्रेसमाथिको आक्रमणका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरी सरकारलाई दबाब स्वरोप दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले बताउनुभयो ।

पत्रकार महासंघ केन्द्रीय समितिले घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै दोस्रो चरणको आन्दोलन घोषण गरे अनुसार कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।