रामेछाप जिल्ला अदालद्धारा लक्ष्यको शतप्रतिशत मुद्दा फछ्र्यौट

  • प्रकाशित मिति: बुधबार, चैत्र १९ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला अदालते लक्ष्यको शतप्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा २२५ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको रामेछाप जिल्ला अदालत आर्थिक वर्षको तीन महिना बाकी हुँदै लक्ष्यको शतप्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको हो ।

अदालते बुधवार जिल्ला स्थित पत्रकाहरुसँग भेटघाट कार्यक्रम गरी यसबारेमा जानकारी दिएको हो । पत्रकार भेटघाट कार्यक्रममा अदालतका श्रेस्तेदार मधुसूदन आचार्यले चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना अनुसार लक्ष्य लिएको शतप्रतिशत मुद्दा फछ्र्यौट भएको बताउनुभयो ।



उहाँले गत वर्ष जिम्मेवारी सरेर आएको १३१ वटा र यो वर्षको हालसम्म नयाँ दर्ता भएको २४८ गरी ३७९ मुद्दा रहेकोमा हालसम्म २२५ वटा मुद्दा फछ्र्यौट भएको र १५४ वटा मुद्दा फछ्र्यौट हुन बाकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “रामेछाप जिल्ला अदालते यो आर्थिक वर्ष २२५ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । तर चैत महिना नसकिँदै लक्ष्यको शतप्रतिशत मुद्दा फछ्र्यौट गर्न अदालत सफल भएको छ ।”

फछ्र्यौट हुन बाकी मुद्दाहरू मध्ये २०८२ असारसम्म दुई वर्ष कट्ने ६ थान र एक वर्ष कट्ने १८ वटा मुद्दा रहको उहाँले बताउनुभयो । बाकी रहेका मुद्दाहरूको पनि चाडै फछ्र्यौट गर्ने गरी अदालत लागिपरेको उहाँले बताउनुभयो ।

अन्तिम फैसला भई रामेछाप जिल्ला अदालत लगत कायम भएका विभिन्न मुद्दाका धेरै प्रतिवादीहरू फरार रहँदा जरिवाना रकम उठान समस्या भइरहेको जिल्ला न्यायाधीश राजेन्द्र नेपालले बताउनुभयो । अहिलेसम्म अन्तिम फैसला भई रामेछाप जिल्ला अदालत लगत कायम भएका ५९२ जना प्रतिवादी फरार रहँदा ३५ करोड रुपैयाँ भन्दा बढी जरिवाना रकम उठ्न नसकेको उहाँले बताउनुभयो ।