पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको कार्यस्थलबाटै कालोपट्टी बाँधेर विरोध

  • प्रकाशित मिति: आइतबार, चैत्र १६ २०८१
  • तामाकोशी

रामेछाप । गत शुक्रवार काठमाडौँ स्थित तीनकुनेमा भएको एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चार गृहमाथिको आक्रमणका विरुद्धमा रामेछापका पत्रकार कालोपट्टी बाँधेर कार्यस्थलमा खटिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ रामेछापको आह्वानमा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले आइतबार पत्रकार हत्या र प्रेसमाथिको आक्रमणको विरोध स्वरूप कार्यस्थलमा कालोपट्टी बाँधेका हुन् ।



पत्रकारको आगोमा जिउँदै जलाएर हत्या गर्ने र विभिन्न सञ्चार गृहमाथि आक्रमण गर्ने जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको माग पत्रकारहरूले गरेका छन् ।

आइतबार बसेको नेपाल पत्रकार महासंघको आकस्मिक बैठकले एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चारमाथिको आक्रमणका विरुद्ध पहिलो चरणको आन्दोलन घोषणा थियो । बैठकले घटनाको अध्ययन र छानबिन गरेर प्रतिवेदन पेस गर्न उपाध्यक्ष उमिद वागचन्दको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति पनि बनाएको छ ।

केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला शाखा रामेछापले भोलि (सोमबार ) बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको छ । त्यसै गरी पर्सि (मंगलबार ) पत्रकारसँग सम्बद्ध विभिन्न संघ–संगठन र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपकुमार घिमिरेले बताउनुभयो ।