दूध उत्पादन बढ्यो तर बजार बढेन

  • प्रकाशित मिति: बिहिबार, चैत्र १३ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले २०७६ सालदेखि दूध उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ बाट प्रति लिटर एक रुपैयाँका दरले दूध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको नगरले अहिले यसलाई बढाएर प्रति लिटर दुई रुपैयाँ पचास पैसा पु¥याएको छ ।

नगरको दूध उत्पादनमा अनुदान वितरण कार्यविधि २०७६ अनुसार कृषकले आफूले उत्पादन गरेका दूध मन्थली नगरपालिकाभित्र दर्ता वा सूचिकृत भएका डेरी उद्योगबाट बिक्री वितरण गर्नुपर्छ ।



नगरमा दर्ता वा सूचिकृत भएका डेरी उद्योगमा बिक्री वितरण भएका दूधको अभिलेखका आधारमा किसानले अनुदान पाइरहेका छन् । यो कार्यविधि अनुसार गएको आर्थिक वर्ष २०८०÷०८१ मा नगरपालिकाले झन्डै ३० लाख रुपैयाँ बजेट दूध उत्पादनमा अनुदान कार्यक्रम मार्फत कृषकहरूलाई प्रदान गरेको थियो ।

नगरपालिका पशु सेवा उपशाखाका अनुसार गत आर्थिक वर्ष ११ लाख ४८ हजार लिटर भन्दा बढी दूध डेरी उद्योगहरूबाट बिक्री वितरण भएको थियो । नगरपालिकामा दूध उत्पादक किसान बढेपछि नगरले चालु आर्थिक वर्ष २०८१÷०८२ मा दूध उत्पादनमा अनुदान कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्थली नगरपालिका पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत मुकुन्द कुमार खड्काले बताउनुभयो ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनामा ६ लाख ९० हजार अनुदान बापतको रकम भुक्तानी भइसकेको र कार्तिक महिना यताको दूधको तथ्याङ्क अद्यावधिक भई बैङ्क खाता मार्फत भुक्तानी दिन चरणमा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो“नगरले आर्थिक वर्ष २०७६÷०७७ बाट दूध उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गर्दै आएको छ । एक रुपैयाँबाट सुरु भएको अनुदान अहिले बढेर दुई रुपैयाँ पचास पैसा पुगिसेको छ । यो कार्यक्रमले नगरभित्र दूध उत्पादन वृद्धि भएको छ ।”
नगरबाट गत वर्ष अनुदान पाउने कृषकहरूको अभिलेख अनुसार एक जना कृषकले साढे एक लाख रुपैयाँसम्म अनुदान प्राप्त गरेका छन् । नगरमा दर्ता तथा सूचिकृत भएका डेरी उद्योग भन्दा बाहिर घर तथा होटेलमा बिक्री वितरण भएका दूधको अभिलेख नहुँदा अझै धेरै दूध उत्पादक कृषकहरू अनुदानबाट वञ्चित भएका उहाँले बताउनुभयो ।
दूध खपतमा समस्या
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अनुसार रामेछाप जिल्लामा दैनिक पाँच हजार लिटर दूध उत्पादन हुने गरेको छ । तर बजारमा खपत भने उत्पादनको ५० प्रतिशत मात्रै भइरहेको छ । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका मध्ये सबै भन्दा बढी दूध उत्पादन र खपत मन्थली नगरपालिकामा हुने गरेको छ ।

रामेछापमा दूध उत्पादन बढे पनि पनि खपत भने घटिरहेको नेपाल डेरी एसोसिएसन बागमती प्रदेश सदस्य समेत रहनु भएका चिरञ्जीवी डेरी उद्योग मन्थलीका सञ्चालक भानुभक्त श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो “जिल्लामा स्थानीय सरकारको दूधमा अनुदान लगायतका प्रोत्साहन कार्यक्रमले दूधको उत्पादन बढेको छ । तर बजारमा खपत राम्रो छैन । दैनिक पाँच हजार लिटर दूध सङ्कलन हुँदा खपत भने त्यसको ५० प्रतिशत मात्रै भइरहेको छ ।”

अब सङ्घ, प्रदेश, स्थानीय सरकार सहित दूध उत्पादक किसान समेत दूधको बजार विस्तार गर्न लाग्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । दूधको खपत बढाउन दुग्ध सङ्कलन केन्द्र तथा दुग्ध डेरीहरूलाई प्रविधिमैत्री बनाउन अत्यावश्यक रहेको उहाँले बताउनुभयो । यही कुरालाई ध्यानमा राखेर नेपाल डेरी एसोसिएसन बागमतीले केही सयम अघि दोलखा, रामेछाप र सिन्धुली जिल्लाका २५ जना दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकलाई मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।