रामपुरका आगलागी पीडितलाई राहत वितरण

  • प्रकाशित मिति: बिहिबार, चैत्र १३ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप नगरपालिका–५ रामपुरका आगलागी पीडितलाई राहत सामाग्री प्रदान गरिएको छ ।
स्थानीय वसन्तपुर ठिउरे स्वाराबेसीको सामुदायिक बनमा लागेको डढेलोका कारण घर गोठ गुमाएका परिवारलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले बुधवार राहत प्रदान गरेको हो ।
रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपाने र उपप्रमुख बालकुमारी कार्की थापा सहित रेडक्रसका प्रतिनिधिहरूले रामपुर पुगेर घरबार विहीन हुन पुगेका पविकारलाई त्रिपाल, खाद्यान्न र अन्य सामाग्री वितरण गरेका हुन् ।
सामुदायिक बनमा लागेको डढेलोका कारण घर गोठ गुमाएका परिवारलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले बुधवार राहत वितरण गरेका हुन् ।
आगलागीका कारण घर विहीन बनेका परिवारलाई नगरपालिकासँग समन्वय गरी त्रिपाल, ओढ्ने, ओछ्याउने कपडा, खाना पकाउने र खाने भाँडाकुँडा लगायतका सामाग्रीहरू प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रामेछापका महामन्त्री दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । आगलागी पीडितलाई तत्काल आवश्यक रहेको खाद्यान्न लगायतका राहतका सामाग्री प्रदान गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।
गत मंगलबार वसन्तपुर ठिउरे स्वाराबेसीको सामुदायिक बनमा लागेको आगो बस्तीमा छिरेको थियो । सामुदायिक वनबाट सल्केको आगोले रामेछाप नगरपालिका–५ स्थित कमाने राना मगर, गुणराज सुनुवार र गोपालबहादुर सुनुवारको एउटा घर र चार वटा गोठ जलेका थिए ।