रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ र सुनापती गाउँपालिका जोड्ने मुख्य सडक कालोपत्रेको काम अलपत्र अवस्थामा छ ।
सदरमुकाम मन्थलीबाट तीन गाउँपालिका जोडिने मन्थली–गाल्पा सडक अन्तरगत मन्थलीबाट खाँडादेवी गाउँपालिका–५ पकरबास स्थित सिकारी डाँडासम्म तीन वर्ष अघि नै कालोपत्रे भइसकेको छ ।
सम्झौता अनुसार यही सडक अन्तरगतको पकरबास–गोगन पानी– गाल्पा सडक पनि २०७९ पुसमै कालोपत्रे भइसक्नुपर्ने हो । तर घटी घटाउमा स्टमेड भन्दा आधा बजेटमा ठेक्का पार्ने निर्माण कम्पनी दिवा÷ओम बुद्ध÷अर्याल जेबी दोलखाले साढे तीन वर्षसम्म पनि काम नगरी सडक आयोजना अलपत्र पारेको स्थानीयको भनाइ छ ।
पूर्वाधार विकास कार्यालयमा तालाबन्दी
निर्धारित समयमा काम नहुँदा नागरिकले यात्राको क्रममा सास्ती भोगेको भन्दै गत जेठ ८ गते खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ लगायतका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेताहरू सहित स्थानीले पूर्वाधार विकास कार्यालय रामेछापमा ताला लगाएका थिए ।
त्यस पछि जेठ ९ गते गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष घिसिङ, पूर्वाधार विकास कार्यालय मन्थलीका प्रमुख बिरेन्द्रकुमार बज्राचार्य, प्राविधिकहरू, वडाध्यक्ष लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताहरूबिच बैठक बसी थप भएको अन्तिम म्यादसम्म काम पुरा गर्ने लिखित सहमति नै भएको थियो ।
योपछि पनि निर्माण व्यवसायीले सहमति अनुसार काम नगरेको खाँडादेवी गाउँपालिका अध्यक्ष रमा घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो “१८ महिनामा सम्पन्न हुनुपर्ने यो सडक आयोजना साढे तीन वर्षसम्म अलपत्र छ । यसका बारेमा पूर्वाधार विकास कार्यालयमा ताला समेत लगायौँ । तर अझै काम हुन सकेको छैन । दबाब दिएपछि निर्माण व्यवसायीले केही दिन काम गरे जस्तो गर्छ । फेरी काम गर्दैन ।”
४७ करोडको योजना २६ करोडमा ठेक्का
२०७९ पुसमै कालोपत्रे सम्पन्न हुनुपर्ने पकरबास–गोगन पानी– गाल्पा सडकको अहिलेसम्म ४० प्रतिशत भौतिक र पुँजीगत ३३ प्रतिशत प्रगति रहेको पूर्वाधार विकास कार्यालय रामेछापका कार्यालय प्रमुख बिरेन्द्रकुमार बज्राचार्यले बताउनुभयो ।
अहिलेसम्म नौ÷नौ महिना गरी दुई पटक म्याद थप गरिएको र दुई पटक थप भएको म्याद सकिएर १८० दिन गणना भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “२०७८ असार १० गते सम्झौता भएको यो सडकमा नौ÷नौ महिना गरी दुई पटक म्याद थप भइसकेको छ । पटक पटक पत्र काटेर ताकेता गर्दा पनि काम गर्छु भन्छ गर्दैन । यस बारेमा कार्यालयले सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको छ ।”
१५.२६ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने पकरबास–गोगन पानी– गाल्पा सडकको ४७ करोड रुपैयाँ लागत स्टमेड थियो । तर निर्माण कम्पनी दिवा÷ओम बुद्ध÷अर्याल जेबी दोलखाले घटिघटाउमा जम्मा २६ करोड रुपैयाँमा काम सम्पन्न गर्ने भनि निर्माणको जिम्मा लिएको कार्यालय प्रमुख बज्राचार्यले बताउनुभयो ।
१८ महिनामा कालोपत्रे हुनुपर्ने पकरबास–गाल्पा सडक साढे तीन वर्षसम्म अलपत्र
- प्रकाशित मिति: शुक्रबार, माघ ४ २०८१
- तामाकोशी