रामेछाप । रामेछापमा अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कार्यालयले आइतबारबाट यो सेवा सुरु गरेको हो ।
नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरूप सो कार्य सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो“ अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा सुरु भएको छ । यो सेवा मन्थली नगरपालिका–८ चिसापानीबाट सुरु गरिएको छ । अब बिस्तारै अरू वडाबाट पनि यो सेवा सुचारु हुन्छ ।”
गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरूबाट अनलाइन सिफारिस गर्ने व्यवस्था कार्यान्वयनको क्रममा चिसापानीबाट सो कार्यको सुरुवात गरिएको उहाँले बताउनुभयो । अब क्रमशः सबै स्थानीय तहका वडाहरूबाट सोही प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने कार्य सुरु हुने पनि उहाँले बताउनुभयो ।
मन्थली नगरपालिका–८ का विवेक खत्रीले वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस भई पहिलो नागरिकता प्राप्त गर्नुभएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।