रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुर लेखर्कस्थित पहरी गाउँ पहिरोले बगाएको घटनाका बारेमा जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठक बसेको छ । सोमबार बिहान रामेछापकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक अनिता निरौलाको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले पहिरो प्रभावितलाई गाउँपालिकाको रोहवरमा एकद्वारा प्रणालीबाट आवश्यकता पहिचानको आधारमा राहत उपलब्ध गराउने लगायतका १३ वटा निर्णयहरू गरेको छ । पहिरोमा बेपत्ता रहेकाहरूको सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा खोज तथा उद्धारको कार्यलाई जारी राख्ने, पहिरोमा परी मृत्यु भएकाको परिवारलाई बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारबाट उपलब्ध हुने राहत रकम नियमानुसार सम्बन्धित वडा र गाउँपालिकाबाट विवरण प्राप्त भए पश्चात् उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले विस्थापित घरपरिवारको तत्कालको आवश्यकता पहिचान गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा जनस्वास्थ्य कार्यालय, रामेछाप उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, सम्बन्धित गाउँपालिकाको अधिकृत लगायत सदस्य रहने गरी समिति बनाउने निर्णय गरेको छ ।
बैठकले दोरम्बा शैलुङ गाउँपालिका–१, २ र ३ का पहिरोको जोखिम देखिएका बस्तीहरूको सम्बन्धमा विशेषज्ञ सहितको अध्ययन टोली खटाई उक्त बस्तीहरूको दीर्घकालीन व्यवस्थापनको सम्बन्धमा अध्ययन गर्न र आवश्यक व्यवस्थापनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । जिल्लामा विपद्का घटनाहरू घटन सक्ने जोखिम कायम नै रहेको हुँदा ५०० थान त्रिपाल र ५० थान टेन्ट तत्काल उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशमा अनुरोध निर्णय गरेको छ ।

