रामेछाप । राष्ट्रिय युवा सङ्घ नेपाल, जिल्ला कमिटी रामेछापको एक युवा पाँच बिरुवा अभियान जारी छ । यो अभियान अन्तरगत शनिवार मन्थली नगरपालिका–१ स्थित ट्राफिक चोक माथिको पाखोमा वृक्षारोपण गरिएको छ । वातावरण संरक्षण गरी हरियाली प्रवर्द्धनका लागि युवाहरूको महत्त्वपूर्ण भूमिका रहने भएकाले युवाहरूलाई वातावरण संरक्षणका क्षेत्रमा अझै सक्रिय बनाउन युवा सङ्घ नेपाल रामेछापले एक युवा पाँच बिरुवा अभियान सुरु गरेको राष्ट्रिय युवा सङ्घ नेपाल, जिल्ला कमिटी रामेछापका अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
अभियानको दोस्रो दिन मन्थली नगरपालिका–१ स्थित ट्राफिक चोक माथिको पाखोमा वृक्षारोपण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । राष्ट्रिय युवा सङ्घ नेपाल, केन्द्रीय कमिटीका उपाध्यक्ष कृष्णहरी केसीको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, युवा सङ्घका केन्द्रीय सदस्य गशेणबज्र लामा, एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे, एमाले जिल्ला कमिटी सदस्यहरू, युवा सङ्घका नेता कार्यकर्ता लगायतका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले मन्थली –१ ट्राफिक चोक माथिको पाखोमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेका छन् ।
