रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सडक हरियाली तथा सौन्दर्यका लागि वृक्षारोपण अभियान सुरु भएको छ । स्थानीय टोल विकास संस्थाहरूको व्यवस्थापनमा वडा कार्यालयको आयोजनामा शुक्रवार सडक छेउमा वृक्षारोपण गरी अभियानको सुरुवात गरिएको हो ।
वडाले सुरु गरेको सडक हरियाली तथा सौन्दर्य बनाउने यो अभियानमा वडा बासीको उत्साहवर्धक सहभागितामा मन्थली नगरपालिका–८ भित्रका साढे ७ किलोमिटर पक्की सडक किनारमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको स्थानीय अर्जुन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘वडा कार्यालयको यो एक दमै राम्रो अभियान हो ।
यो अभियानमा वडा बासीको सक्रिय सहभागिता रह्यो । अब बिरुवा रोपेर मात्रै हुँदैन । यसको संरक्षणका लागि पनि हामी लाग्छौँ । वडा कार्यालय पनि रोपिएको बिरुवाहरू संरक्षणमा लाग्नुपर्छ ।’’
सडक किनारमा रोपिएका बिरुवाहरू हुर्काउनका लागि स्थानीयहरूले जिम्मेवारी नै लिएर लाग्ने चिसापानीका अर्का स्थानीय शान्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो‘‘सडक किनारमा बिरुवा हुर्काएर उजाड भएका गाउँ बस्तीहरूलाई हरियाली बनाउन हामी लागिपरेका छौँ । बिरुवाहरू रोप्न मात्रै होइन हुर्काउनका लागि पनि हामी प्रतिबद्ध छौँ । एक जनाले ६ वटा बिरुवा हुर्काउने प्रतिबद्धताका साथ अभियानमा लागेका छौँ ।’’
लामो समय अलपत्रपछि सम्पन्न भएको मन्थली–चिसापानी–पुरानागाउँ सडक कालोपत्रे भएपछि यो सडकको थप सौन्दर्यका लागि सडक किनारमा वृक्षारोपण अभियान सुरु गरिएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो‘‘मन्थली नगरपालिका–८ चिसापानीलाई कसरी हुन्छ सौन्दर्य बनाउनुपर्छ भनेर लागेका छौँ । यो कार्यका लागि साबिक चिसापानी गाविस अनुसारका वडाहरूमा टोल विकास संस्थाहरू निर्माण गरेका छौँ । यसरी बनेका टोल विकास संस्थाहरूको व्यवस्थापनमा वडालाई धार्मिक, सांस्कृतिक, पर्यटकीय र जातीय हिसाबले राम्रो बनाउने गरी वडा कार्यालय लागिपरेको छ ।’’
चालु आर्थिक वर्ष २०८०÷०८१ मा वडा कार्यालयबाट विनियोजित पाँच लाख रुपैयाँ बजेटबाट साढे ७ किलोमिटर भन्दा बढी कालोपत्रे सडक किनारमा विभिन्न प्रजातिका ६०० बिरुवा टी गार्डभित्र रोपिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । बिरुवा रोपेर मात्रै नहुने भएकाले बिरुवालाई आवश्यक मल जल र रेखदेखका लागि पनि वडा कार्यालयले विशेष योजना बनाएको उहाँले बताउनुभयो ।
अधिकांश वडाहरू अति सुख्खा ग्रस्त रहेको मन्थली नगरपालिकामा यस्ता हरियाली प्रवर्द्धनका कार्यक्रमहरू अभियान कै रूपमा सञ्चालन गर्न अत्यावश्यक रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘१४ वटा वडा रहेको मन्थली नगरपालिकाका अधिकांश वडाहरू अति सुख्खा ग्रस्त छन् ।
वर्षाको समयमा हरियाली भए पनि सुख्खा याममा भने उराठ लाग्दो हुन्छ । त्यसैले वडाले नागरिक सहभागितामा सुख्खा ठाउँमा माटो सुहाउँदो बोट बिरुवाहरू रोप्ने यस्ता हरियाली प्रवर्द्धनका अभियानहरू चलाउन आवश्यक छ । यसमा मन्थली नगरपालिकाको पनि साथ सहयोग रहन्छ ।’’



