रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा एकल महिला भेला तथा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । मन्थली नगरपालिकाको सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूह जिल्ला कार्य समिति रामेछाप र मन्थली नगर कार्य समितिको संयुक्त आयोजनामा बिहीबार कार्यक्रम भएको हो । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यता, मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्र कार्की र वडा नं ३ कठजोरका वडा अध्यक्ष कृष्णगोपाल थापाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा वडा नं २ र ३ का निर्वाचित वडा सदस्यहरू सहित एक महिलाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई नेपालको संविधानले एकल महिलालाई दिएको अधिकार र त्यसको कार्यान्वयनको अवस्था लगायतका बारेमा अधिवक्ता यादव प्रसाद दाहालले जानकारी गराउनुभएको थियो । मानव अधिकारका लागि महिला, एकल महिला समूहको आवश्यकता, औचित्य र एकल महिलाको हक हितका लागि यो समूहले गर्दै आएको कामहरूका बारेमा मानव अधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष प्रमीला सापकोटाले जानकारी गराउनुभएको थियो । कार्यक्रममा मन्थली नगरपालिका–२ मा वडा स्तरीय मानव अधिकारका लागि महिला, एकल महिला समूहको गठन पनि गरिएको छ । वडा स्तरीय समूह गठनका लागि वडा नं २ का वडा सदस्य बालकाजी श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।
मन्थलीमा एकल महिला भेला तथा सशक्तीकरण कार्यक्रम सम्पन्न
- प्रकाशित मिति: बिहिबार, असार १४ २०८१
- तामाकोशी