आज १० औँ अन्तर्राष्ट्रिय योग दिवस : रामेछापमा प्रभातफेरी र योग समारोह गरी मनाइयो

  • प्रकाशित मिति: शुक्रबार, असार ८ २०८१
  • तामाकोशी

रामेछाप । आज १० औँ अन्तर्राष्ट्रिय योग दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा जिल्ला स्तरीय मूल समारोह समिति मन्थली रामेछापको आयोजनामा प्रभातफेरी तथा योग समारोह लगायतका कार्यक्रम गरी रामेछापमा १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
दिवसका अवसरमा शुक्रवार बिहान आफू र समाजका लागि योग भन्ने नाराका साथ सदरमुकाम मन्थली बजारमा प्रभातफेरी गरिएको थियो । त्यसपछि ओम शान्तिको हलमा योग समारोहको आयोजना भएको थियो । समारोहमा पूर्व राज्यमन्त्री एवं नेकपा माओवादी रामेछापका नेता श्यामकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा, रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला लगायतले व्यक्ति र समाजका लागि योगको महत्त्व लगायतका बारेमा बोल्नुभएको थियो ।
वक्ताहरूले व्यक्तिको मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएकाले आसन र प्राणायामलाई केन्द्रित गरेर शरीरलाई स्वस्थ बनाउन सकिने बताउनुभयो । समस्या अनेक समाधान एक भनेको यो संसारमा योग मात्रै भएकाले योगले सबै खालका रोगको औषधीको काम पनि गर्ने वक्ताहरूको भनाइ छ ।समारोहमा विभिन्न विधामा योग अभ्यास पनि गरिएको थियो ।  संयुक्त राष्ट्र सङ्घको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।