मन्थली नगरपालिकाको सबै वडामा ४० लाख माथि बजेटका ठुला पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने

  • प्रकाशित मिति: शुक्रबार, असार ८ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा ठुला पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने भएको छ । साना टुक्रे योजनाहरू धेरै हुदा समयमै सम्पन्न गर्न समस्या हुने र परिणाम पनि खासै नदेखिएपछि नगरपालिकाले सबै वडामा देखिने खालका एउटा ठुला पूर्वाधार विकासको योजना सञ्चालन गर्ने नीति लिएको हो । जसका लागि नगरपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकासको लागि १० करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसै गरी १४ वटा वडाको लागि ११ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीति अन्तरगत हरेक वडाबाट प्रस्ताव भएका २० लाख रुपैयाँ भन्दा माथिका एक ठुला पूर्वाधारका आयोजनालाई नगरबाट थप २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरी कुल ४० लाखको योजना कार्यान्वयन गरिने नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । आउने आर्थिक वर्षको लागि आर्थिक विकास क्षेत्रको लागि २ करोड ४५ लाख, सामाजिक विकासमा ९ करोड २७ लाख, विपद् तथा वातावरण व्यवस्थापनमा १ करोड ३५ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १४ करोड ४९ लाख, साझेदारी तथा समन्वयको लागि ७४ लाख, कार्यपालिका सदस्यले विनियोजन गर्ने ४० लाख र कानुन तथा न्याय क्षेत्रका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।