रामेछाप । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख सुरेश दाहाललाई मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्था प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको छ । सोमबार बिहान कार्यालय परिसरमा हल्ला गरिरहेको अवस्थामा कार्यालय प्रमुख दाहाललाई प्रहरीले नियन्त्रणमा लिँदै गरेको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ । भिडियोमा मदिरा पिएर झ्याप भएका दाहाललाई नाङ्गो खुट्टामा प्रहरीले समाएर कार्यालयबाट बाहिर ल्याउँदै गरेको देखिन्छ । भिडियोमा कार्यालय प्रमुख दाहालले आफूलाई समातिरहेको प्रहरी लगायत स्थानीयहरूलाई अपशब्द बोलिरहेका छन् । रक्सीले मातिएका कार्यालय प्रमुख दाहाललाई बा १ झ ८३६१ नम्बरको सरकारी गाडीमा राख्न समेत प्रहरीहरूलाई हम्मे हम्मे परेको भिडियोमा देखिन्छ ।
मदिरा सेवन गरी कार्यालय परिसरमाबाटै कराउँदै हल्ला गरिरहेको भनी स्थानीयको गुनासो आएपछि कार्यालय प्रमुख दाहाललाई जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप कुमार सिंहले बताउनुभयो । बढी होहल्ला हुँदा परिस्थिति अर्के हुनसक्ने भएको र स्थानीयको पनि मदिरा सेवन गरेर होहल्ला र गाली गरेको भन्ने गुनासो आएकाले कार्यालय प्रमुख दाहाललाई प्रहरीले मन्थली ल्याएको डिएसपी सिंहको भनाइ छ ।