रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पताल प्रादेशिक अस्पताल बनेको छ । मन्थली नगरपालिकाले सञ्चालन गरिरहेको यो अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गर्ने बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शनिवारको प्रदेशसभा बैठकमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यको १२५ नम्बर बुँदामा चितवन जिल्लाको माडी स्थित बघौडा अस्पताल, रामेछापको मन्थली अस्पताल, दोलखाको जिरी अस्पताल, सिन्धुपाल्चोकको मेलम्ची अस्पताल र सिन्धुलीको दुधौली अस्पताललाई क्रमशः प्रादेशिक अस्पतालमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको उल्लेख छ ।
बिरामीको अत्यधिक चाप हुने मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन रामेछापका प्रदेश सांसदहरूले पटक पटक प्रदेश सभामा आवाज उठाउँदै आउनुभएको थियो । मन्थली नगरपालिकाले पनि मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन प्रदेश सरकारसँग लामो समयदेखि माग गर्दै आएको थियो । मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट सञ्चालन गरिरहेको छ । यो अवधिमा मन्थली अस्पतालले सेवा ग्राहीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न विभिन्न सेवाहरूको विस्तार गर्दै लगेको छ । अहिले दैनिक २०० भन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेला लिइरहेका छन् । मन्थली अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।
