मन्थलीमा एडभान्स लेडिज फेसन डिजाइन कटीङ तथा सिलाई तालिम

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २७ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम तालिम सुरु भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापको आयोजनामा आइतबारबाट तालिम सुरु भएको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापका अध्यक्ष ज्ञानबहादुर सुन्दासको अध्यक्षता र मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा तालिमको सुरुवात गरिएको छ । तालिमको प्रारम्भ गर्दै मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेतले तालिमका सिकेका कुराहरूलाई व्यवहारमा उतार्न साहभागिहरुलाई आग्रह गर्नुभयो । उहाँले महिलाहरूलाई घरायसी जिम्मेवारी बढी भए पनि यो तालिम महत्त्वपूर्ण रहेकाले अन्य सबै कुराहरूलाई थाती राखेर भए पनि तालिमबाट दक्षता हासिल गरी व्यवसायी बन्न आग्रह गर्नुभयो ।
महिलाहरूको सिप विकास गरी उनीहरूको आर्थिक वृद्धि गर्ने बिटोमा लैजाने खालका कार्यक्रममा मन्थली नगरपालिकाको सधैँ साथ र सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । महिलाहरूको कपडामा समय अनुसार विभिन्न डिजाइन परिवर्तन हुने भएकाले ती डिजाइनहरूलाई तयार पार्न सक्ने गरी तालिमबाट दक्षता हासिल गर्न सहभागीहरूलाई उहाँको आग्रह छ ।
मन्थली नगरपालिका–१ का वडा अध्यक्ष होमप्रसाद पौडेलले नागरिकको चाहाना अनुसार विभिन्न क्षेत्रको विकास गरी मन्थली नगरपालिकालाई समृद्धिको बाटोमा अगाडि बढाएको बताउनुभयो । अब वडा कार्यालय तथा मन्थली नगरपालिले युवाहरूलाई रोजगार तथा स्वरोजगार बनाउनका लागि उनीहरूमा सिप विकास गर्ने खालका कार्यक्रमहरूमा जोड दिने उहाँको भनाइ छ । यही कुरालाई मध्यनजर गरी अहिले मन्थलीमा टपरी बनाउने, फ्रिज मर्मत, सिलाई कटाइ जस्ता तालिमहरू सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।
सिलाई कटाइ व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव सरोज कटुवालले सिलाई कटाइमा सिटिभिटीको तेस्रो लेबलमा आफू प्रमाणित भएको अनुभव सुदाउँदै सिलाई कटाई व्यवसायी शारीरिक सुन्दरतासँग जोडिने बिषय भएको बताउनुभयो ।
तालिममा रामेछाप जिल्लाभरका सिलाई व्यवसाय गरिरहेका २० जना महिलाहरूको सहभागिता रहेको आयोजक संस्था नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापका अध्यक्ष ज्ञानबहादुर सुन्दासले जानकारी दिनुभयो । संस्थाले स्थानीय सरकारसँग आवश्यक समन्वय गरी यस्ता सिपमूलक कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिने अध्यक्ष सुन्दासको भनाइ छ ।