रामेछाप नगरपालिकाले वार्षिक नीति, कार्यक्रम र बजेट बनाउनु पूर्व पत्रकारसँग पनि लियो सुझाव

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ९ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति,कार्यक्रम तथा बजेटका सन्दर्भमा जिल्लामा रहेका पत्रकारहरूसँग पनि राय, सुझा लिएको छ । बुधवार नगरपालिकामा पत्रकारसँग मेयर कार्यक्रमका आयोजना गरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ लागि तर्जुमा गरिने वार्षिक नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा पत्रकारहरूसँग राय, सुझाव लिएको हो । कार्यक्रममा सहभागी पत्रकारहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर वार्षिक नीति, कार्यक्रम तथा बजेट बनाउन नगरपालिकालाई सुझाव दिएका छन् । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले वास्तविक कृषि पहिचान, किसानले उत्पादन गर्ने कृषि उत्पादन र पशु बिमा जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउँदै उत्पादनका आधारमा कृषि अनुदान जस्ता कार्यक्रम बनाउन पत्रकारहरूको सुझाव छ ।
रामेछाप नगरपालिकामा सामुदायिक शिक्षा सुधारका लागि विशेष कार्यक्रम बनाउन , कम्तीमा नगरपालिकाको हरेक वडाबाट नगर कार्यपालिकाको कार्यालय सम्मको सडक कालोपत्रे गर्ने जस्ता कार्यक्रम बनाउन पत्रकारहरूको सुझाव छ । त्यसै गरी लक्षित समूहका लागि विनियोजित बजेटबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने गरी समावेशी हिसाबले वार्षिक नीति, कार्यक्रम तथा बजेट बनाउन पत्रकारहरूले सुझाव दिए । त्यसै गरी पर्यटन, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा पनि दीर्घकालीन सोच सहितको कार्यक्रम बनाउन सुझाव दिए । रामेछाप नगरपालिकाका विभिन्न स्थानमा उत्पादन भएको जुनारले रामेछाप जिल्लालाई नै जुनारको जिल्ला भनेर चिनाएकाले जुनार कृषकहरूका लागि चिस्यान केन्द्र निर्माण गरी नगरपालिकाले बजार प्रवर्द्धन गर्ने खालको कार्यक्रमहरू पनि बर्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा उनीहरूको जोड थियो ।
कार्यक्रममा रामेछाप नगरपालिका–७ सुकाजोरका वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता समीर कार्कीले नगरपालिकाको आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणका लागि पत्रकारहरूको सुझाव महत्त्वपूर्ण हुने बताउनुभयो । नगरपालिकाले सम्पादन गर्ने कामको खबरदारीसँगै नगरले गरेका राम्रा र नमुना योग्य कामहरूको पनि समाचारहरू सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो । समाचार सम्प्रेषण गर्दा यथार्थताको धरातललाई ख्याल गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेले नगरपालिकाले आफ्नो वार्षिक नीति कार्यक्रम तथा बजेट बनाउनु पूर्व पत्रकारहरूको पनि सुझाव लिने अभ्यास सुरु गरेको बताउनुभयो । नगरको यो अभ्यासले सञ्चार क्षेत्र लक्षित कार्यक्रमहरू बनाउन र नगरको समग्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, पर्यटन लगायतका क्षेत्रको विकासका लागि कार्यक्रम बनाउन महत्त्वपूर्ण सुझाव सङ्कलन भएको उहाँको भनाइ छ । रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले पत्रकारहरूबाट महत्त्वपूर्ण सुझावहरू आएकाले यी सुझावहरूलाई आगामी वर्षको नीति कार्यक्रम र बजेटमा समेट्न प्रयास गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष रामेछाप नगरपालिकाको कार्यपालिकाको कार्यालयदेखि कोलाञ्जोरघाट सम्मको २० किलोमिटर सडक कालो पत्रे गर्ने कुरालाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले सामुदायिक शिक्षा सुधारका लागि नगरका सबै वडामा एउटा मेघा विद्यालय बनाउने अवधारणा नगरले अगाडी सारेको बताउनुभयो । ९ वडा रहेको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म ५४.९५ प्रतिशत बजेट खर्च गरेको छ । यो वर्ष नगरपालिकाले ७५ करोड ८७ लाख ७ हजार ६४१ रुपैयाँ बजेट विनियोजन गरेकोमा हाल सम्म चालु तर्फ ६१.८३ प्रतिशत र पुँजीगत तर्फ ४०.६५ प्रतिशत गरी ५४.९५ प्रतिशत अर्थात् ४१ करोड ६९ लाख ४७ हजार ६७२ रुपैयाँ खर्च गरेको छ ।