लिखुतामाकोशी गाउँपालिकामा हालसम्म १२६ योजनाको भुक्तानी

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ७ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको लिुखुतामाकोशी गाउँपालिकामा चालु आर्थिक वर्षको हालसम्म १२६ वटा योजनाको भुक्तानी भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा यो गाउँपालिकाको सबै वडाको गरी २०६ वटा योजनाहरू सम्पन्न हुनपर्छ । २०६ वटा योजनामध्ये अहिलेसम्म १२६ वटाको काम सम्पन्न पश्चात् आवश्यक अनुगमन, निरीक्षण गरी भुक्तानी समेत भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताउनुभयो । बाकी ८० वटा योजनाहरू मध्ये १५ वटा योजनाहरूको ६० प्रतिशत काम सम्पन्न भएको र ६५ वटा योजनाको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नं ७ तिल्पुङमा केही योजनाहरू ढिलाइ भएकाले चाँडो सम्पन्न गर्न ताकेता गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ७ वटा वडा रहेको लिखुतामाकोशी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा ७७ करोड रुपैयाँ बढी बजेट विनियोजन भएको छ । जसमा ४२ करोड रुपैयाँ बजेट चालु तर्फ र बाकी विकास बजेट अर्थात् पुँजीगत तर्फ खर्च हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत भुजेलले अहिले लिखुतामाकोशी गाउँपालिकामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार हालसम्म भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह लगायतका बारेमा समीक्षा, अन्तरक्रिया तथा छलफल गरी आगामी दिनमा गाउँपालिकाले गर्नुपर्ने र लिनुपर्ने नीति योजना तथा कार्यक्रमका बारेमा सुझाव लिन यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । निर्वाचित जनप्रतिनिधि, गाउँपालिकाको विषयगत शाखाका प्रमुख लगायत सरोकारवालासँग गाउँपालिकाको विकासका लागि सवाल जवाफ तथा छलफल भइरहेकाले यो कार्यक्रम निकै प्रभावकारी देखिएको उहाँको भनाइ छ ।