रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बागमती प्रदेश सरकारको एक करोड २५ लाख रुपैयाँ बजेटबाट ११२ वटा सुख्खा पोखरी निर्माण हुँदै छ । गाउँपालिकाको अति सुख्खा ग्रस्त स्थानहरू सामुदायिक वन, सार्वजनिक स्थान, धारा र पधेरा भएका स्थानहरूमा आकाशे पानी सङ्कलनका लागि सुख्खा पोखरी निर्माण हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ भित्रै एक करोड रुपैयाँ बजेटबाट १२ वटा ठुला र २५ लाख रुपैयाँ बजेटबाट एक सय वटा साना सुख्खा पोखरी निर्माण हुने छ । गाउँपालिकाभित्र अति सुख्खा ग्रस्त स्थानहरूको पहिचान गरी ठुला पोखरी निर्माणका लागि गत वैशाख ९ गने नै बोलपत्र आह्वान गरिएको गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर रामचन्द्र ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘बागमती प्रदेश सरकारको एक करोड रुपैयाँबाट खाँडादेवी गाउँपालिकामा १२ वटा ठुला सुख्खा पोखरी निर्माण हुँदै छ । पोखरी निर्माणका लागि आवश्यक प्रक्रिया सञ्चालन भइरहेका छन् । पोखरी बनाउन गाउँपालिकाले गत वैशाख ९ गतेदेखि जेठ ८ गतेसम्मको मिति राखेर बोलपत्र आह्वान गरेको छ ।’’
उहाँका अनुसार गाउँपालिकाको ठाँटी पुरानो धारा मुनि एउटा, मदन भण्डारी पार्कमा एउटा र सुल थुम्का पौवा पाखा सामुदायिक वनमा स्थित गोगनपानी सिरदेवी मन्दिर आसपासमा तीन वटा पोखरी निर्माण हुनेछन् । त्यसै गरी कुतुरसा पोखरीमा एउटा, सान्ने पधेरामा एउटा, ठुलो सामुदायिक वनमा एउटा, देउराली कोल पाखा सामुदायिक वनमा एउटा, गोल्माथुम्की सामुदायिक वनमा एउटा, चरिको बगरमुनि भिरपानीमा एउटा र सुतारगाउँ स्कुलमुनि एउटा पोखरी निर्माण हुनेछन् ।
नौ वटा वडा रहेको खाँडादेवी बागमती प्रदेश सरकारकै २५ लाख रुपैयाँ बजेटमा एक सय वटा साना सुख्खा पोखरी पनि यही आर्थिक भित्रै निर्माण हुनेछ । गाउँपालिकाको विभिन्न वडाका सामुदायिक वन, सार्वजनिक स्थल, धारा, पधेरा र सिँचाई गर्ने स्थानमा पानी सङ्कलनका लागि साना सुख्खा पोखरी निर्माण हुनेछन् । एक सय वटा साना सुख्खा पोखरी निर्माण लागि खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग र स्थानीय संस्था गाउँ विकास केन्द्रको साझेदारीमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशील विकास परियोजना मार्फत माग सङ्कलनको काम भइरहेको छ । उपभोक्ता समिति मार्फत निर्माण हुने सुख्खा पोखरीका लागि अहिले माग सङ्कलनको काम भइरहेको परियोजना संयोजक माधव ढकालले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘विशेष गरी आकाशे पानी सङ्कलन गर्नका लागि गाउँपालिकाको सामुदायिक वन, सार्वजनिक स्थान, धारा, पधेरा भएका स्थानमा पोखरी निर्माण हुनेछन् । यसरी खनिने सुख्खा पोखरीले प्राकृतिक जैविक विविधताको संरक्षण, हरियाली प्रवर्द्धन गर्न र जङ्गली जनावरहरूलाई पनि पानी खान सहज हुन्छ । अहिले निर्माणका लागि माग सङ्कलन गर्ने काम भइरहेको छ ।’’
खाँडादेवी गाउँपालिकामा प्रदेश सरकारको लगानीमा ११२ वटा सुख्खा पोखरी निर्माण हुँदै
- प्रकाशित मिति: शनिबार, जेष्ठ ५ २०८१
- तामाकोशी