मन्थली नगरपालिकामा नौ महिनामा १८७ योजनाको भुक्तानी(कुन वडामा कति?)

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १ २०८१
  • तामाकोशी

रामेछाप । १४ वटा वडाहरू रहेको रामेछापको मन्थली नगरपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न हुनुपर्ने ४४८ वटा योजनाको जम्मा ४१.७४ प्रतिशत योजनाको भुक्तानी भएको छ । चालु आर्थिक वर्षको साउन देखि चैत महिनासम्म यो वर्ष सम्पन्न हुनुपर्ने ४४८ योजनामध्ये ३०८ योजनाको सम्झौता भएकोमा १८७ योजनाको भुक्तानी भएको योजना प्रशासन, अनुगमन तथा मर्मत उपशाखाकाका नायब सुब्बा ज्योति सुवेदीले बताउनुभयो । चैत महिनासम्म १४० वटा योजनाहरूको सम्झौता गर्न बाकी रहेको देखिए पनि वैशाख महिनामा धेरै योजनाहरूको सम्झौता भएर धमाधम काम भइरहेको उहाँले बताउनुभयो ।

चैत मसान्तसम्म सम्झौता तथा भुक्तानी भएका योजनाको वडागत विवरण
वडा नं १ मन्थलीमा यो वर्ष ५६ वटा योजना सम्पन्न हुनुपर्नेमा गत चैत महिनासम्म ४६ वटा सम्झौता भएकोमा ३६ वटा योजनाको भुक्तानी भएको छ । त्यसै गरी वडा नम्बर २ टेकनपुरमा २८ वटा योजना सम्पन्न हुनुपर्नेमा २० वटाको सम्झौता भएकोमा ११ वटाको भुक्तानी भएको छ । वडा नं ३ कठजोरमा ३० वटा योजना सम्पन्न हुनुपर्नेमा २४ वटाको सम्झौता हुँदा १७ वटाको भुक्तानी भएको छ । त्यसै गरी यो अवधिमा वडा नं ४ सालुमा ३३ वटा योजना सम्पन्न हुनुपर्नेमा १७ वटाको सम्झौता हुँदा ९ वटाको भुक्तानी भएको छ । वडा नं ५ सुनारपानीमा २७ वटा योजना सम्पन्न हुनुपर्नेमा १७ वटा सम्झौता हुँदा ९ वटाको भुक्तानी हुँदा वडा नं ६ भलुवाजोरमा २९ वटा योजना सम्पन्न हुनुपर्नेमा १७ वटाको सम्झौता भई १० वटा योजनाको भुक्तानी भएको छ ।
त्यसै गरी वडा नं ७ भटौलीमा ३९ वटा योजना सम्पन्न हुनुपर्नेमा ३२ वटाको सम्झौता हुँदा १९ वटाको भुक्तानी भएको छ । वडा नं ८ चिसापानीमा ३१ वटा योजना सम्पन्न हुनुपर्नेमा १८ वटाको सम्झौता हुँदा ८ वटाको भुक्तानी भएको छ । वडा नं ९ पुरानागाउँमा ३३ वटा योजना सम्पन्न हुनुपर्नेमा २२ वटाको सम्झौता हुँदा ९ वटाको भुक्तानी भएको छ । वडा नं १० चनखुमा २५ वटा योजना सम्पन्न हुनुपर्नेमा १९ वटाको सम्झौता हुँदा १२ वटाको भुक्तानी भएको छ । त्यसै गरी वडा नं ११ मा ३७ वटा योजना सम्पन्न हुनुपर्नेमा २५ वटाको सम्झौता हुँदा १७ वटाको भुक्तानी भएको छ । वडा नं १२ गेलुमा ३० वटा योजना सम्पन्न हुनुपर्नेमा २२ वटाको सम्झौता हुँदा १५ वटाको भुक्तानी भएको छ । वडा नं १३ मा २८ वटा योजना सम्पन्न हुनुपर्नेमा १६ वटाको सम्झौता हुँदा ७ वटा योजनाको भुक्तानी भएको छ । वडा नं १४ मा २२ वटा योजना सम्पन्न हुनुपर्नेमा १३ वटाको सम्झौता हुँदा ८ वटाको भुक्तानी भएको छ ।
मन्थली नगरपालिकाले झन्डै दश महिनाको अवधिमा ५५ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । चालु आर्थिक २०८०÷८१ को साउन महिनादेखि वैशाख २५ गतेसम्म नगरपालिकाले कुल एक अर्ब चार करोड ५४ लाख ९२ हजार बजेटको ५५ प्रतिशत अर्थात् ५७ करोड ५० लाख २० हजार ६०० रुपैयाँ खर्च गरेको हो । यो अवधिसम्म नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तरगत चालु आर्थिक वर्षका लागि स्वीकृत एक अर्ब चार करोड ५४ लाख ९२ हजार बजेटमा चालू तर्फ ६५ प्रतिशत र पुँजीगत खर्च ४० प्रतिशत गरी जम्मा ५५ प्रतिशत मात्रै बजेट खर्च गरेको भएको नगरपालिकाले जनाएको छ ।