मन्थली नगरपालिकामा प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमन, गुणस्तरीयतामा ध्यान दिन मन्त्री थपलियाको निर्देशन

  • प्रकाशित मिति: बिहिबार, बैशाख २० २०८१
  • तामाकोशी

लेखबहादुर वि.क, रामेछाप । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया रामेछाप जिल्लामा प्रदेश सरकारबाट सञ्चालित विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री थपलियाले बिहीबार मन्थली नगरपालिकामा प्रदेश सरकारको लगानीमा सञ्चालित योजनाहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
मन्त्री थपलियाले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको १७ करोड ८८ लाख ६१ हजार ८८० रुपैयाँ लगानीमा काम भइरहेको मन्थली–चिसापानी–पुरानागाउँ सडक कालोपत्रे आयोजनाको अनुगमन गर्नुभयो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्राविधिक सहित सडक अनुगमन गर्दै मन्त्री थपलियाले सडकमा भइरहेको कामको गुणस्तरीयतामा विशेष ध्यान दिन स्थानीय सरकार, निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।
यो सडक २०७८ पुस २५ गते कालोपत्रे सम्पन्न गर्ने गरी कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार बाट काम सुरु गरेको थियो । तर हालसम्म पनि यो सडक कालोपत्रेको काम सम्पन्न हुन सकेको छैन । मन्थली नगरपालिका–८ को जखनीटारदेखि वडा नं ९ पुरानागाउँ जोडिने ७.३६ किलोमिटर सडक कालोपत्रे योजनाको १५ करोड ३२ लाख ७६ हजार ६८७ रुपैयाँ रकम भुक्तानी भइसकेको छ ।
निर्माण व्यवसायीले पटक÷पटक काम रोकेर सडक आयोजना अलपत्र पारेको भन्दै चिसापानी बासी आन्दोलनमा उत्रिएपछि गत माघ अन्तिमबाट रोकिएको काम सुरु भएको थियो । स्थानीय सरकारको पटक पटकको ताकेता र नागरिकको दबाबपछि अहिले निर्माण व्यवसायीले तीव्र गतिमा सडक कालोपत्रेको काम गरिरहेको मन्थली नगरपालिका–८ चिसापनीका वडा अध्यक्ष एवं मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो‘‘ नागरिकको ठुलो दबाब र स्थानीय सरकारको पटक पटकको ताकेताले सडक कालोपत्रेको कामले गति लिएको छ । यही गतिमा काम भए अबको एक दुई दिनमा सडक कालोपत्रे सकिन्छ होला ।’’
विकास योजना बारे छलफल
मन्त्री थपलियाले मन्थली नगरपालिकाको विकास निर्माणका अवस्था र आगामी बजेट तथा कार्यक्रमको विषयमा छलफल गर्नुभएको छ । बिहीबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उहाँले मन्थली नगरपालिकाको विकास निर्माणको अवस्था बारे जानकारी लिनुभयो । मन्थली नगरपालिकाको आगामी बजेट तथा कार्यक्रम र समग्र रामेछाप जिल्लाको विकासको लागि काम गर्नुपर्ने क्षेत्रको बारेमा छलफल भएको वाग्मती प्रदेश सभा सदस्य एवं नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकाले अहिले गरिरहेको काम, समस्या र आगामी दिनमा गर्नै पर्ने कामका बारेमा मन्त्री थपलियालाई जानकारी गराउनुभएको थियो । श्रेष्ठले मन्थली नगरपालिका भित्र सडक पूर्वाधार सुधार, विभिन्न पूर्वाधार निर्माण, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गर्नु पर्ने कामको बारे जानकारी गराउनुभएको थियो ।