रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा सञ्चालित समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी आफ्नो १४ औँ स्थापना दिवस मनाएको छ । सहकारीले शुक्रवार निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरी आफ्नो १४ औँ स्थापना दिवस मनाएको हो । सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्ना सदस्य तथा मन्थली नगरपालिका- ८ चिसापानी बासीका लागि लागि निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको सहकारीका अध्यक्ष भिमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटी रामेछापको प्राविधिक सहयोगमा सञ्चालन भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । त्यसै गरी मन्थली नगरपालिकासँगको साझेदारीमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट २५४ जनाले सेवा लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वास्थ्य शिविरमा मन्थली नगर अस्पतालका प्रमुख डाक्टर समीर क्षत्रीको नृतत्वमा रहेको टोलीले चिसापानी बासीको स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधी वितरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्थली नगरपालिका-८ चिसीपनाका वडा अध्यक्ष एवं मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, जिल्ला बचत सङ्घ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल, नेप्स्कुन फिल्ड सेवा कार्यालय मन्थलीका प्रमुख सूर्यबहादुर थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मन्थली नगरपालिका-८ चिसापानी वडा कार्यालयको समन्वय रहेको थियो । २०६७ साल वैशाख ७ गते डिभिजन सहकारी कार्यालय काभ्रेपलान्चोक दर्ता भएर सञ्चालन आएको यो सहकारीले चालु आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार २२३ जना शेयर सदस्यबाट बढाएर कम्तीमा एक हजार ४०२ जना शेयर सदस्य पुर्याउने लक्ष्यका साथ काम गरिरहको सहकारीका व्यवस्थापक अर्जनु श्रेष्ठले बताउनुभयो ।

