रामेछापको ५४५ हेक्टर भन्दा बढी वनक्षेत्रमा डढेलो, मन्थली नगरपालिकामा मात्रै ३२६ हेक्टर वनक्षेत्रमा डढेलो

  • प्रकाशित मिति: बुधबार, बैशाख ५ २०८१
  • तामाकोशी

रामेछाप । यो वर्षको हालसम्म रामेछाप जिल्लाको ५४५ भन्दा बढी हेक्टर क्षेत्रफल वनक्षेत्रमा डढेलो लागेको छ । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा ६ वटा सब डिभिजन वन कार्यालयहरु छन् । अहिलेसम्म ६ वटा सवडिभिजन अन्तरगतका ५४५ हेक्टर वनक्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी देवेन्द्र यादवले बताउनुभयो ।
उहाँका अनुसार यो वर्षको हालसम्म जिल्ला भरका ५० वटा भन्दा बढी सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ । सूचना अधिकारी यादवका अनुसार जिल्लाको उमकुण्ड र गोकुलगंगा गाउँपालिका हेर्ने ताँवे डिभिजन वन कार्यलय अन्तरगतका २१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसै गरी लिखुतामाकोशी गाउँपालिका हेर्ने धोवी सवडिभिजन अन्तरगत ७६ हेक्टर, रामेछाप नगरपालिका हेर्ने हिमगंगा सवडिभिजन अन्तरगत ३१.५ हेक्टर वन क्षेत्रमा डढेले लागेको छ । त्यसैगरी मन्थली नगरपालिका हेर्ने चिसापानी सव डिभिजन अन्तरगत ३२६ हेक्टर, दोरम्बा शैलुङ गाउँपालिका हेर्ने दोरम्बा सव डिभिजन अन्तरगत १५ हेक्टर र खाँडादेवी र सुनापति गाउँपालिका हेर्ने खाँडादेवी सवडिभिजन कार्यलय अन्तरगत २५.५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।
रामेछापमा वर्षेनी वन डढेलोबाट ठूलो क्षति हुने गरेको छ । सामान्यतया गाउँबस्ती वरपर हुने सामान्य हेलचेक्रयाईँका कारण सिंगो मानव बस्ती र वन क्षेत्रमा नोक्सानी हुँदै आएको छ । वनमा लागेको आगो बस्तीमा सल्कीदा रामेछापमा यो वर्षको हालसम्म २६ वटा भन्दा बढी घर गोठ जलेर नष्ट भएको सूचना अधिकारी यादवले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण एक जनाको मृत्यु भएको छ भने एक सय वटा भन्दा बढी पशु वस्तु मरेका छन् । वनमा आगो लगाउने व्यक्तिको पहिचानमा समस्या हुने भएकाले डढेलोका घटनामा कमी आउन सकेको छैन । आगलागीबाट सर्वसाधारणको घरगोठ मात्रै नभई वर्षेनि वनक्षेत्रमा वनस्पति तथा जैविक विविधतामा समेत ठुलो असर पुग्ने गरेको छ । कुनै व्यक्तिले वनमा आगो लगाएर क्षति भएमा क्षति भए बराबरको विगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । सुख्खायाम सुरु भएदेखि रामेछापमा सामुदायिक, निजि र कवुलियति वनमा आगलागीका घटनाहरु भइरहेका छन् । आगलागीको घटना न्युनिकरणका लागि डिभिजन वन कार्यालयले समुदायमा जनचेतनामुलक कार्यक्रम गरीरहेको बताएपनि त्यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । वन डढेलोका घटना हुन नदिन सबै भन्दा बढी जिम्मेवार डिभिजन वन कार्यालय बन्नुपर्ने हो । तर यो विषयमा यो कार्यालयको भूमिका कमजोर देखिएको छ । धेरै डढेलोका घटना ग्रामीण भेगमा भइरहेका छन् । तर डिभिजन वन कार्यालयले भने सदरमुकाम लगायत सहरी क्षेत्रमा वन डढेलो सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।