१५ हजारसम्म बिरुवा उत्पादन गर्ने एग्रो कन्सर्न उद्योग

  • प्रकाशित मिति: बिहिबार, चैत्र २९ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीमा नेपाल एग्रो कन्सर्न उद्योग सञ्चालनमा छ । वर्ष भरिनै विभिन्न जातका फलफूल तथा अन्य बिरुवाहरू उत्पादन गरिरहेको यो उद्योग स्थानीय पदम बहादुर तामाङ, कौसल्या तामाङ, मिना कुमारी तामाङले संयुक्त रूपमा सञ्चालन गर्नुभएको हो ।
दुई वर्षअघिबाट सञ्चालन भएको यो उद्योगको १५ हजारसम्म बिरुवा उत्पादन गर्ने क्षमता रहेको सञ्चालक पदमबहादुर तामाङले बताउनुभयो । उद्योग सञ्चालनमा रहेकाले अहिले विशेष गरी अमिलो जातका फलफूल जुनार, सुन्तला र कागती जस्ता बिरुवाहरू बढि मात्रामा उत्पादन भइरहेको तामाङले बताउनुभयो । जाली घरभित्र विशेष प्रविधिमा बिरुवा उत्पादन भइरहेको यो उद्योगबाट पहिलो वर्ष १४ हजार, दोस्रो वर्ष पाँच हजार विभिन्न जातका बिरुवाहरू बिक्री भएको सञ्चालक तामाङको भनाइ छ ।
उहाँले भन्नुभयो ‘‘दुई सालको बिरुवा बेच्नुपर्छ । एक सालको बिरुवा बेच्न मिल्दैन अहिले नियमले । त्यसैले पहिलो वर्ष धेरै बिरुवा उत्पादन गर्न सकिने रहेछ । त्यसपछिको दुई वर्ष पुरानै बिरुवाका कारण घट्दो मात्रामा बिरुवा उत्पादन हुने रहेछ ।’’
दुई रोपनी जमिनमा उद्योग सञ्चालन भएकोमा एक रोपनी जमिनमा गोलभेँडा खेती गरिएको उहाँले बताउनुभयो । यो वर्ष झन्डै तीन लाख रुपैयाँ बराबरको गोलभेँडा बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘यो वर्ष गोलभेँडा एक दमै राम्रो उत्पादन भयो । ‘‘मैले दुई वटा टनेलमा गौरव जातको गोलभेँडा लगाएको थिए । यो जातको गोलभेँडाको उत्पादन र भाउ पनि राम्रो पाएका कारण झन्डै तीन लाखको बिक्री भयो ।’’
यो उद्योगबाट धेरै भन्दा धेरै गुणस्तरीय बिरुवा उत्पादन गर्न कृषि विकास कार्यालय र प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले पनि सहयोग गरिरहेको छ । कृषि विकास कार्यालय र परियोजना इकाइको अनुदान कार्यक्रमका कारण अहिलेसम्म यो उद्योगबाट उत्पादन भएको बिरुवाहरू बिक्रीमा समस्या नभएको तामाङले बताउनुभयो । यो उद्योगबाट तीन÷तीन वर्षमा आउने चरणको पहिलो वर्ष १५ हजारसम्म बिरुवा उत्पादन हुने भएकाले निकट भविष्यमा बिरुवा बिक्रीमा समस्या आउन सक्ने उहाँको भनाइ छ ।