रामेछापमा सार्वजनिक सवारीको भाडा दर कार्यान्वयनमा कडाइ हुन्छ : डिएसपी सिंह

  • प्रकाशित मिति: मंगलबार, चैत्र २७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले सार्वजनिक सवारी साधनको निर्धारित भाडा दर कार्यान्वयनमा कडाइ गर्ने बताउनुभएको छ । रामेछाप जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक पत्रकारहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी डिएसपी सिंहले यस्तो बताउनुभएको हो ।
रामेछापमा सरोकारवाला निकायबाट पटक पटक सवारी साधनको भाडा दर निर्धारण गरिए पनि प्रभावकारी कार्यान्वयन नहुँदा यात्रुसँग मनलाग्दी भाडा लिएको गुनासो आएको भन्दै उहाँले सार्वजनिक सवारी साधनमा कडाइका साथ भाडा दर कायम गर्ने बताउनुभयो । उहाँले सदरमुकाम मन्थली बजार क्षेत्रका सडक छेउमा विभिन्न प्रायोजनका लागि राखिएको निर्माण सामाग्री तत्काल हटाउन र फुटफाटलाई अझै व्यवस्थित बनाउन जिल्ला प्रशासन तथा मन्थली नगरपालिकासँग समन्वय गर्ने बताउनुभयो । विद्यालय समयमा मन्थली बजार क्षेत्रका सडकमा भिडभाड बढी हुने भएकाले सम्भावित दुर्घटनालाई मध्यनजर गरी विद्यालय समयमा मालवाहक ट्रक लगायत ढुवानीका साधनहरू रोकेर सामान लोड अन लोड गर्न पूर्ण रुपमा रोक लगाउने उहाँको भनाइ छ । जिल्लामा आपराधिक घटनाहरू हुन नदिनका लागि विशेष सुरक्षा व्यवस्था मिलाउने उहाँले बताउनुभयो । अहिले सामुदायिक प्रहरी अन्तरगत सञ्चालन हुने कार्यक्रमहरू प्रभावकारी देखिएकाले सामुदायिक प्रहरी कार्यक्रमलाई अझै प्रभावकारी बनाउने उहाँको भनाइ छ। रामेछाप जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि आफूले जिल्लाका बढी सुरक्षा जोखिम भएका धेरै ठाउँहरूको निरीक्षण गरी आवश्यक सुरक्षा योजना निर्माण भइरहेको उहाँको भनाइ छ ।