रामेछाप । रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ८० जना भन्दा बढीले एक सय दिन बराबरको न्यूनतम रोजगारी पाउने भएका छन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकाको वडा नं २ देखि १३ नम्बर वडासम्म सञ्चालन हुने योजना तथा कार्यक्रम मार्फत चालु आर्थिक वर्ष २०८०÷०८१ मा ८० जना भन्दा बढी बेरोजगार सूचिकृतहरूले रोजगारी पाउने नगरपालिकाका रोजगार संयोजक रक्षित रेग्मीले बताउनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकालाई यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५२ लाख ८५ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । यो बजेटबाट वडा नं १ बाहेकका अरू १३ वटा वडाहरूमा पाँच लाख रुपैयाँ भन्दा मुनीका योजनाहरू सञ्चालन भइरहेका छन् । अहिले वडा नं ७ भटौली र वडा नं ११ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालित योजनाको काम अन्तिम चरणमा पुगेको र अन्य वडाहरूमा पनि ५० प्रतिशत भन्दा बढी काम भइसकेको रोजगार संयोजक रेग्मीको भनाइ छ । यो वर्ष सबै वडाहरूमा सडक पूर्वाधारकै क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ । मन्थली नगरपालिकामा चालु आर्थिक वर्ष २०८०÷८१ मा यो वर्ष सबै वडामा गरी ८८८ जना बेरोजगार व्यक्तिमा सूचीकृत भएका छन्। यो नगरपालिकाका बेरोजगार सूचिकृत नागरिकले दैनिक ६६८ रुपैयाँ ज्याला प्राप्त गर्ने छन् ।
मन्थली नगरपालिका सहित रामेछापका आठ वटै पालिकामा गरी यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६०० बढी बेरोजगार नागरिकहरूले न्यूनतम एक सय दिन बराबरको रोजगारी पाउँदै छन् । दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटा वडाका बेरोजगार सूचिकृत भएका आठ हजार २३७ मध्ये ६३८ नागरिकले न्यूनतम एक सय दिनको रोजगारी पाउने छन् । अहिले बेरोजगार सूचीकृत नागरिकलाई पालिकाहरूले सडक लगायतका पूर्वाधार, वातावरण संरक्षण, खानेपानी लगायतका क्षेत्रमा रोजगारी प्रदान गरिरहेका छन् ।
मन्थली नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ८० जना बढीलाई रोजगारी
- प्रकाशित मिति: सोमबार, चैत्र १९ २०८०
- तामाकोशी