खैरो हेरोइन सहित रामेछाप दोरम्बाका युवक सिन्धुलीबाट पक्राउ

  • प्रकाशित मिति: आइतबार, चैत्र १८ २०८०
  • तामाकोशी

रामेछाप । ४५ ग्राम खैरो हेरोइन सहित रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक युवक सिन्धुलीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ का २० वर्षीय सुबोध श्रेष्ठ रहेका छन् । उनी सहित तीन जना सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट पक्राउ परेका हुन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुका २५ वर्षीय रुपेश थोकर र काभ्रेपलान्चोकको चौँरी देउराली गाउँपालिका–९ का २८ वर्षीय सुरेश भन्ने भीम बहादुर तामाङ पनि पक्राउ परेका छन् । सुनसरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र ०१०२८ च ३६१२ नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र खैरो हेरोइन जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ ४५ ग्राम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ का श्रेष्ठ कार चालक हुन् । शनिवार पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।