रामेछापको दोरम्बा शैलुुङ गाउँपालिकामा मध्यरातमा लुटपाट गर्ने तीन जना पक्राउ

  • प्रकाशित मिति: बिहिबार, चैत्र १५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ पासेवन ओख्रेनी स्थित एक घरमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । यही चैत १३ गते मध्यरातमा पासेवन ओख्रेनी स्थित ८८ वर्षका हर्कबहादुर नगरकोटीको घरबाट सुनका गरगहना र नगद पैसा लुटेकोको आरोपमा सोही स्थानका दुई जना सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
लुटपाटको आरोपमा पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–४ पासेवन ओख्रेनीका ३४ वर्षीय रोहित बहादुर थापामगर, सोही स्थानका २२ वर्षीय तेजबहादुर थापामगर र मकवानपुर जिल्ला हेटौडा उपमहानगर पालिका–५ का ४० वर्षीय खेम राई रहेका छन् । पक्राउ परेका तीन जनाले मध्यरातमा हर्कबहादुर नगरकोटीको घरको मूल ढोका फुटाएर भित्र पसी हर्कबहादुर र उहाँकी श्रीमती धनलक्ष्मी नगरकोटीलाई लछारपछार पारी दुई तोला सुनको गरगहना र १५ हजार पैसा लुटेको प्रहरीको भनाइ छ । घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा बुधवार दोलखाको मागापौवा भन्ने स्थानबाट नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी तीनै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिनुभयो ।