रामेछापमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने

  • प्रकाशित मिति: बुधबार, चैत्र १४ २०८०
  • तामाकोशी

रामेछाप । तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछाप जिल्लामा हुने भएको छ । रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका–८ रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो ।
महोत्सवको आयोजक संस्था सेलिब्रेटी नेपालले बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले वैशाख ६,७ र ८ गते तीन दिन हुने महोत्सवमा २४ वटा भन्दा बढी चलचित्र निःशुल्क प्रदर्शन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘महोत्सवमा ग्रामीण परिवेशमा बनेका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषा भाषीका गरी चार वटा क्याटोगोरीका फिल्म देखाइन्छ । अहिले फिल्महरू दर्ता भइरहेका छन् । अब आयोजकको जुरीले छनौट गरेका फिल्महरू प्रदर्शन हुनेछन् ।’’ महोत्सवमा देखाइने सबै चलचित्रका कलाकार पनि आउने र उनीहरूले ग्रामीण भेगका दर्शकहरूसँग साक्षात्कार गर्ने उहाँले बताउनुभयो ।
रामेछापमा चलचित्रहरूको छाँयाकंनका लागि चलचित्रकर्मीहरू बढी भन्दा बढी ल्याउनका लागि सिनेमा पर्यटनलाई जोडेर स्थानीय स्तरको पर्यटन प्रवर्द्धनको सम्भावना बारेमा संवाद पनि गरिने उहाँले बताउनुभयो ।
पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक फिल्म निर्देशक कमल एक्चै मगरले बताउनुभयो । दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्व माझ पु¥याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सव पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो।