लिखुतामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, एक करोड ९९ लाख बढी जरिवाना र ६ महिना कैद हुने

  • प्रकाशित मिति: मंगलबार, चैत्र १३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष सहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । लिखु तामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्कासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको भन्दै २७ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये ५ जना दोषी ठहर भएका छन् भने २२ जनाले सफाइ पाएका छन् । खड्कासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपाने, टङ्कप्रसाद चौलागाई, लेखापाल दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई विशेष अदालतले दोषी ठहर गरेको हो । टेकनारायण कुँवर र तेजनारायण सिंह राईको संयुक्त इजलासले खड्कालाई १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको छ । यस्तै अदालतले राजु प्रसाद र टङ्क प्रसादलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ जरिवाना तोकेको छ भने दुर्गाबहादुर र नोर्बुलाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ जरिवाना तोकेको छ । समान ल्याउने ठेकेदार कम्पनी सञ्चालक अमृतबहादुर तामाङलाई ३ महिना कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ जरिवाना तोकिएको छ ।