रामेछाप । न्यूनतम सेवा मापदण्ड फलोअप मापन कार्यक्रम (एमएसएस) मा जिल्ला अस्पताल रामेछाप देशभरको तेस्रो उत्कृष्ट अस्पताले बनेको छ । कुल ९१ अङ्क हासिल गर्दै जिल्ला अस्पताल रामेछाप देशभर रहेका १५ शय्याको जिल्ला अस्पतालमा तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले अस्पतालको न्यूनतम मापदण्ड फलोअप मापन गरेको हो ।
बुधवार अस्पतालमा आयोजित अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन फलोअप तथा समीक्षा कार्यक्रममा फलोअप मापन समितिका सदस्य रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले अस्पतालले प्राप्त गरेको अङ्क सार्वजनिक गर्नुभयो ।
उहाँका अनुसार जिल्ला अस्पताल रामेछापले २० अङ्क मापन हुने शासन र व्यवस्थापन मापदण्डमा ८९ प्रतिशत अर्थात् १७.८, ६० प्रतिशत अङ्क मापन हुने क्लिनिकल व्यवस्थापनमा ९३ प्रतिशत अर्थात् ५५.८ र अस्पताल सहयोग सेवामा २० प्रतिशत मापन हुनेमा ८९ प्रतिशत अर्थात् १७.८ अङ्क प्राप्त गरेको छ । जिल्ला अस्पताल रामेछापले गत वर्ष न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा ८७ अङ्क प्राप्त गरेको थियो ।
फलोअप मापन समितिका प्रमुख एवं कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डा. दीपेन्द्र पाण्डेले १५ शय्याको जिल्ला अस्पतालहरूमा जिल्ला अस्पताल रामेछाप न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा तेस्रो स्थानको अङ्क ल्याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘जिल्ला अस्पताल रामेछापले न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा ९१ अङ्क प्राप्त गरेको छ । सम्भवतः ः यो अङ्क १५ बेडको अस्पतालमा देशभरकै तेस्रो उत्कृष्ट अङ्क होला । मलाई जानकारी भए अनुसार बैतडीको एउटा अस्पतालले ९३ र सिन्धुपाल्चोकको एउटा अस्पताले ९२ अङ्क प्राप्त गरेको छ ।’’ अब यो अस्पताल ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृत भइसकेकाले यसको न्यूनतम सेवा मापदण्ड फलोअप मापन शून्यबाटै सुरु हुने उहाँको भनाइ छ । आफूले अस्पताल सञ्चालनको नेतृत्व गरेपछि न्यूनतम सेवा मापदण्ड फलोअप मापनको अङ्क बढ्दो क्रममा रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘९१ अङ्क प्राप्त गरी जिल्ला अस्पताल रामेछाप १५ शय्याको मध्ये देशभरकै तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । यो हामी रामेछाप बासीका लागि खुसीको कुरा हो । तर अब यो अस्पताल ५० शय्याको सञ्चालनका लागि स्वीकृत भइसकेकाले चुनौती थपिएको छ । यसलाई ध्यानमा राखेर हामी तत्काल आवश्यक योजना बनाउन लाग्छौँ ।’’
रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले लामो सङ्घर्षले यो अस्पतालले न्यूनतम सेवा मापदण्ड फलोअप मापनमा ९१ अङ्क प्राप्त गरेको बताउनुभयो । नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजाने उहाँले बताउनुभयो । सेवाको विस्तार तथा गुणस्तरीयताका कारण अहिले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुको सङ्ख्या बढ्दो मात्रामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा २० हजार ४१४ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुनसम्म १६ हजार ७२९ जनाले अस्पतालबाट सेवा लिएका छन् ।
वाग्मती प्रदेश सरकार अन्तरगत सञ्चालित यो अस्पताल २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको थियो । २०५० सालमा १५ शय्याको अस्पतालमा स्तरोन्नति भएको यो अस्पताल आर्थिक वर्ष २०७५÷०७६ बाट वाग्मती प्रदेश अन्तरगतको अस्पतालको रूपमा सञ्चालनमा रहेको छ । अहिले आकस्मिक सेवाको ५ शय्या, २५ शय्याको वार्ड, आइसियु २ शय्या र डायलिसिस ५ शय्या गरी ३७ शय्या रहेको यो अस्पताल चालु भर्खरै ५० शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृत भएको छ ।
