रामेछाप । रामेछाप नगरपालिका–९ टाहारका आगलागी पीडितलाई नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्च, वाग्मती प्रदेश व्यवस्थापन विभाग र एमाले रामेछाप नगर सम्पर्क मञ्चले संयुक्त रूपमा नगद सहित राहत सामाग्री वितरण गरेका छन् । मङ्गलवार आगलागी पीडित १३ घर परिवारलाई सम्पर्क मञ्चको तर्फबाट एक लाख ४ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ । सहयोगी संस्थाहरूको तर्फबाट आगलागी पीडितलाई ब्ल्याङ्केट १४ थान, साडी २२ थान, टी सर्ट तथा पाइन्ट ३५ थान, कुर्ता १३ थान, जिन्स पाइन्ट २३ थान तथा फलफूल हस्तान्तरण गरिएको सम्पर्क मञ्चका नेता दिलीप श्रेष्ठले जानकारी दिनुभयो । सोही कार्यक्रममा स्थानीय समाजसेवी झलकबहादुर श्रेष्ठले प्रतिपरिवार ३ हजार रुपैयाँका दरले नगद सहयोग गर्नुभएको थियो । राहत वितरण कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष प्रमोद भण्डारी लगायतका पदाधिकारी तथा सदस्यहरू, एमाले वाग्मती प्रदेश कमिटी सदस्य सिता केसी, एमाले रामेछाप नगर पार्टी अध्यक्ष रोशन पाख्रिन लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । गत चैत १ गते भएको आगलागीमा परी रामेछाप नगरपालिका–९ टाहारमा १३ घर परिवारका घर, गोठ तथा पशु बस्तु जलेर नष्ट भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि सो क्षति भएको थियो ।
रामेछाप टाहारका आगलागी पीडितलाई एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको आर्थिक सहयोग
- प्रकाशित मिति: मंगलबार, चैत्र ६ २०८०
- तामाकोशी