रामेछाप । रामेछाप नगरपालिका–९ ल्याङल्याङको टारमा भएको आगलागीमा परी विद्यालयका पोसाक तथा किताब, कपी जलेको विद्यार्थीलाई अनेरास्ववियु रामेछापले विद्यालय सामाग्री सहयोग गरेको छ । गत चैत १ गते भएको आगलागी पीडित सो बस्तीका १३ जना बालबालिकालाई अनेरास्ववियु रामेछाप जिल्ला कमिटीले विद्यालय सामाग्री सहयोग गरेको हो । विद्यार्थीलाई झोला, स्कुल ड्रेस, कापी, पेन्सिल, डटपेन लगायतका सामाग्रीहरू विद्यालयमा पुगेर हस्तान्तरण गरिएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, केन्द्रीय सदस्य आङ लामु शेर्पा, नेकपा एमाले रामेछाप नगर कमिटी अध्यक्ष रोशन पाख्रिन, रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, संगठनका जिल्ला अध्यक्ष पुष्कर भट्टराई, उपाध्यक्ष गोपाल थोकर, जिल्ला कमिटी सदस्य तथा महिला विभाग प्रमुख विनीता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । किताब कलमविहीन भएका विद्यार्थीलाई विद्यार्थी संगठनले सहयोग गरेको भन्दै विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले खुसी व्यक्त गर्नुभएको छ । आगलागी प्रभावित विद्यार्थीलाई गरिएको यो पहिलो सहयोग भएको उहाँहरूले बताउनुभयो । चैत १ गतेको आगलागीमा परि सो बस्तीका १३ घर परिवारका घर, गोठ तथा घरमा भएका सबै सम्पत्तिका साथै बस्तुभाउ समेत जलेर नष्ट भएका छन् ।
आगलागी पीडित विद्यार्थीलाई अनेरास्ववियु रामेछापद्धारा शैक्षिक सामाग्री सहयोग
- प्रकाशित मिति: मंगलबार, चैत्र ६ २०८०
- तामाकोशी