आगलागी पीडित परिवारलाई मन्थली नगरपालिकाद्धारा जस्ता पाता सहयोग

  • प्रकाशित मिति: सोमबार, चैत्र ५ २०८०
  • तामाकोशी

रामेछाप । आगलागीबाट घर विहीन भएका रामेछापको रामेछाप नगरपालिका–९ टारका १३ घर परिवारलाई मन्थली नगरपालिकाले जस्ता पाता उपलब्ध गराएको छ । नगरपालिकाले पीडित परिवारलाई सोमबार प्रति परिवार दुई बन्डलका दरले छाना छाउने जस्ता पाता उपलब्ध गराएको हो । सहयोग सामाग्री लिएर मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापा लगायतका जनप्रतिनिधि र कर्मचारीहरू आगलागी प्रभावित गाउँ टारमा पुग्नु भएको थियो ।
जस्ता पाता प्रदान गर्दै मन्थली नगरपालिका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले मन्थली नगरपालिकाले मानवीय सहयोग गरेको र सकेको अझै थप सहयोग गर्ने बताउनुभयो । मन्थली नगरपालिका विपत् व्यवस्थापन समिति संयोजक एवं वडा नं ३ का अध्यक्ष कृष्णगोपाल थापाले स्थानीयलाई आगलागीबाट जोगिन थप सचेतना अपनाउन आग्रह गर्नुभयो ।
गत चैत १ गते नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर परिवारका घर र गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट घर गोठमा भएका सबै सामान जलेको थियो । आगलागीबाट धनमाल र पशु बस्तु क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । आगलागीमा परी ६० भन्दा बढी बाख्रा दुई वटा भैँसी लगायतका पशु बस्तु समेत मरेका छन् । आगलागी पीडित परिवारलाई मन्थली नगरपालिका, रामेछाप नगरपालिका, नेकपा एमाले रामेछाप, रामेछाप रेडक्रस लगायतले आगलागी भएको भोलिपल्टै चैत २ गते खाद्यान्न लगाएको सामान सहयोग गरेका थिए । पीडितलाई जिल्ला विपत् व्यवस्थापन समितिले ३० हजारका दरले र रामेछाप नगरपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद सहयोग गर्ने निर्णय गरेका छन् । अन्य विभिन्न संस्थाहरूले पनि कपडा, खाद्यान्न लगायतका सामाग्री सहयोग गरेका छन् ।
अहिले खाद्यान्न, कपडा लगायता केही सहयोग सामाग्रीहरू जुट्न लागेका भए पनि आगलागी पीडितलाई स्थायी आवास निर्माण गर्नु मुख्य चुनौती भएको रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । अब आगलागी पीडितको आवास निर्माणको लागि सहयोग गर्न सहयोगी दाताहरूलाई श्रेष्ठले अनुरोध गर्नुभयो ।