रामेछापमा बैङ्क तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वमा ध्यान नदिएको गुनासो

  • प्रकाशित मिति: सोमबार, चैत्र ५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापमा जिल्लामा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा खासै ध्यान नदिएको गुनासो आएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले सोमबार मन्थलीमा आयोजना गरेको बैङ्क तथा इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तर दायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रमका सहभागीहरूले नेपाल राष्ट्र बैङ्क मार्फत इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले बैङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्थामा भए अनुसारको कामहरू नभएको गुनासो गरेका छन् ।
नेपाल राष्ट्र बैङ्कद्वारा जारी बैङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनमा बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो वार्षिक नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा खर्च गरी यस क्षेत्रमा वित्तीय क्षेत्र पनि क्रियाशील हुनुपर्ने व्यवस्था गरिएको छ । सो एक प्रतिशत रकम वार्षिक रूपमा छुट्टाई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने र सो कोषमा जम्मा भएको रकम अर्को आर्थिक वर्षमा खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।
साथै, वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने पनि व्यवस्था गरिएको छ । सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम सामाजिक परियोजनाहरू, वित्तीय साक्षरता, प्रत्यक्ष अनुदान खर्च, दिगो विकास लक्ष्य, सामाजिक कार्यहरूमा खर्च गर्नुपर्न व्यवस्था छ ।
तर रामेछापमा सञ्चालित ११ वटा भन्दा बढी बैङ्क र वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफ्नो जिम्मेवारी नदेखाएको उपभोक्ता अधिकार मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कडेंलले बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाहरूले वर्षमा यति नाफा कमायो भन्ने समाचार आइरहँदा यी संस्थाहरूले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खासै जिम्मेवारी नदेखिनु दुःखद भएको नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताउनुभयो । अबको दिनमा बैङ्क तथा वित्तीय संस्थाहरूले जिल्ला स्थित स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्नुपर्नेमा उहाँको जोड छ।
जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले जिल्लामा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा नीतिगत व्यवस्था अनुसार काम गर्नुपर्ने बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा थप जिम्मेवार बनाउन जिल्ला समन्वयले आवश्यक समन्वयको कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
वाग्मती प्रदेश सभाका सांसद आनन्दकुमार श्रेष्ठले कानुनरुको अभावले प्रदेश तथा तल्लो तहमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा जिम्मेवार बनाउन नसकिएको बताउनुभयो । माथ्लो तहमा बनेका यस सम्बन्धी नीतिहरूलाई जिल्ला तहमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूलाई कार्यान्वयन गर्न अख्तियारी लिनुपर्ने लगायत धेरै समस्याहरू रहेको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ(कान्छाराम) ले जिल्लाका बैङ्क तथा वित्तीय संस्थाहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न आग्रह गर्नुभयो । सङ्घीय संसद्को अर्थ समितिकाका सदस्य समेत रहनुभएका सांसद तामाङले जिल्ला तहमा संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई सहज बनाउने गरी अर्थ समितिमा कुरा राख्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आआफ्नो शाखाबाट केन्द्रीय तहमा समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रामेछापको रामेछाप नगरपालिका–९ टाहारमा आगोलागिले घरबार विहीन भएका १३ घर पुन निर्माणका लागि भूमिका खेल्न समेत जिल्लाका बैङ्क तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क लगायत अन्य बैङ्क तथा इन्स्योरेन्सका प्रमुख एवं प्रतिनिधिहरूले अहिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय साक्षरता कक्षा, वृक्षा रोपन, छात्रवृत्ति वितरण लगायतका काम भइरहेको बताए । यो कार्यक्रमले यो क्षेत्रमा अझ धेरै काम गर्न थप ध्यानाकर्षण गराएकाले अबको दिनमा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ धेरै काम गर्ने प्रतिबद्धता जनाए । यसका लागि जिल्ला समन्वय समिति, स्थानीय सरकार लगायतले आवश्यकताको पहिचान गरी सहकार्य तथा समन्वय बढाउनुपर्ने बैङ्क तथा इन्स्योरेन्सका प्रमुख एवं प्रतिनिधिहरूको माग छ ।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता र रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङ(कान्छाराम) को प्रमुख आतिथ्यतामा बैङ्क तथा इन्स्योरेन्सहरुको संस्थागत सामाजिक उत्तर दायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।