रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा ४७ वटा प्लास्टिक टनेल निर्माण गरिएको छ । वडा कार्यालयको तरकारी बाली पकेट कार्यक्रम अन्तरगत ४७ वटा प्लास्टिक टनेल निर्माण गरिएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ वडाका तरकारी बाली पकेट कार्यक्रम अन्तरगत चिसापानी कृषि सहकारी संस्था मार्फत ४७ वटा प्लास्टिक टनेल निर्माण भएका छन् । टनेल निर्माण गर्नुहुने सबै कृषकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अब यो टनेल बनेपछि चिसापानीमा तरकारीको उत्पादन बढ्ने अपेक्षा छ ।’’
किसानले टनेल निर्माण गरी प्लास्टिक माग गरेपछि अनुगमन पश्चात् आइतबार ४७ थान टनेल प्लास्टिक किसानलाई वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । सिँचाइ सुविधा नभएको चिसापानीमा अन्य तरकारी भन्दा बढी टमाटर उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसानहरूले थोपा सिँचाइ मार्फत टमाटर उत्पादन गर्दै आएका छन् । टमाटर लगायत अन्य तरकारी खेतीका लागि चिसापानीका धेरै किसानहरूले वर्षे पानी सङ्कलन गरी सिँचाइ गर्ने गरेका छन् । चिसापानीमा उत्पादन भएका टमाटर लगायत अन्य तरकारीहरूको गुणस्तर राम्रो भएका कारण बजार माग पनि राम्रो रहेको यहाँका किसानहरू बत्ताउँछन् ।
