रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले विभिन्न निकायसँगको समन्वयमा विभिन्न वडामा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आफ्ना नागरिकलाई गाउँमै विशेषज्ञ डाक्टर सहितको सेवा दिन गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गाउँपालिकाले पछिल्लो समय वडा नं १ राकाथुम, वडा नं ५ पकरबास र वडा नं ८ मा विशेषज्ञ डाक्टरहरू सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तीन वटा स्वास्थ्य शिविरबाट तीन वटा वडाका २५ सय बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरबाट वडा नं १ राकाथुमका ८५० जना, वडा नं ५ पकरबासका ९४५ जना र वडा नं ८ का ७७५ जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएको खाँडादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘जर्मन नेपाल सहयोग सङ्घ र विकासका लागि एकताको सहयोग तथा खाँडादेवी गाउँपालिकाको समन्वय र व्यवस्थामा तीन वटा वडामा शिविर आयोजना गरिएको छ । तीन वटा वडामा गरी दुई हजार ५७० जनाले स्वास्थ्य सेवा लिएका छन् ।’’ शिविरमा धुलिखेल अस्पतालका विशेषज्ञ डाक्टरहरूबाट महिलाको पिसाब चुहिने, पाठेघर खस्ने समस्याको पहिचान तथा निःशुल्क अप्रेसनको लागि बिरामी छनोट गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिलाहरूको भीआईए जाँच तथा अन्य स्त्री रोगको परीक्षण पनि गरिएको छ । तिलगांग आँखा केन्द्र र रामेछाप सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा परीक्षण तथा मोतिया विन्दु रोग भएकालाई निःशुल्क शल्यक्रियाको लागि बिरामी छनोट समेत शिविरमा गरिएको छ ।
शिविरमा आँखाको सामान्य जाँच तथा उपचार पनि गरिएको छ । शिविरमा ओम डेन्टल अस्पतालबाट दन्त रोगीलाई सेवा प्रदान गरिएको भने दाँत निकाल्ने, सफा गर्ने तथा अन्य समस्याको उपचार गरिएको छ । यसका अतिरिक्त सामान्य चिकित्सा सेवा, भिडियो एक्सरेका साथै खकार, रगत, पिसाब लगायत जाँच गर्ने ल्याब सेवा र स्वास्थ्य शिक्षा प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले बताउनुभयो । रोग पहिचान गरी अस्पतालले निःशुल्क शल्यक्रियासम्मको प्रबन्ध मिलाएकोले यसले स्थानीयलाई निक्कै लाभ भएको पनि उहाँले बताउनुभयो ।
खाँडादेवी गाउँपालिकामा घुम्ती स्वास्थ्य शिविर : २५ सय बढीले स्वास्थ्य सेवा लिए
- प्रकाशित मिति: बिहिबार, चैत्र १ २०८०
- तामाकोशी