रामेछाप । रामेछापमा जिल्लामा मतदाता नामावली अद्यावधिक कार्यक्रम २०८० सुरु भएको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली अद्यावधिक कार्यक्रम २०८० फागुन २९ गते मङ्गलवार वाट सुरु गरेको हो । फागुन २९ गते मङ्गलवारदेखी आउँदो चैत्र ५ गते सोमबारसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने लगायतका कार्यक्रम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । यो अवधिमा मतदाता नामावलीमा कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने र मातदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम भए नामावलीबाट हटाउन सूचना दिने लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । चैत ६ गतेदेखि ८ गतेसम्म मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी परेको मतदाताहरुलाई प्रमाण सहितको मौका दिने जिल्ला निर्वाचन कार्यालय रामेछापको सूचनामा उल्लेख छ । ८ वटा पालिकाको ६४ वटा वडा रहेको रामेछापमा २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एक लाख ७८ हजार ८६७ जना मतदाता कायम भएको थियो । त्यसपछि २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४ हजार ४४२ जना थप भई एक लाख ८३ हजार ३०९ जना मतदाता कायम भएको थियो ।
