रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासमा सञ्चालन भएको विशेषज्ञ स्वास्थ्य शिविरमा ९४५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । जर्मन नेपाल सहयोग सङ्घ र विकासका लागि एकताको सहयोग तथा खाँडादेवी गाउँपालिकाको समन्वय र व्यवस्थामा पकरबास स्वास्थ्य चौकीमा मंगलबार शिविर आयोजना गरिएको थियो । शिविरमा धुलिखेल अस्पतालका विशेषज्ञ डाक्टरहरूबाट महिलाको पिसाब चुहिने, पाठेघर खस्ने समस्याको पहिचान तथा निःशुल्क अप्रेसनको लागि बिरामी छनोट गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘ शिविरमा महिलाहरूको भीआईए जाँच तथा अन्य स्त्री रोगको परीक्षण पनि गरिएको छ । तिलगांग आँखा केन्द्र र रामेछाप सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा परीक्षण तथा मोतियाविन्दु रोग भएकालाई निःशुल्क शल्यक्रियाको लागि छनोट समेत गरिएको छ । शिविरमा आँखाको सामान्य जाँच तथा उपचार पनि गरिएको छ ।’’
शिविरमा ओम डेन्टल अस्पतालबाट दन्त रोगीलाई सेवा प्रदान गरिएको छ । दाँत निकाल्ने, सफा गर्ने तथा अन्य समस्याको उपचार गरिएको छ । यसका अतिरिक्त सामान्य चिकित्सा सेवा, भिडियो एक्सरेका साथै खकार, रगत, पिसाब लगायत जाँच गर्ने ल्याब सेवा र स्वास्थ्य शिक्षा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
शिविरमा खाँडादेवी गाउँपालिका ५,४, ६ र ३ का स्थानीयहरूको स्वास्थ्य परीक्षण गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘‘काठमाडौँका ठुला अस्पतालमा पैसा तिरेर पनि भनेको बेलामा नपाइने सेवा गाउँमा नै पाएपछि स्थानीय खुसी छन् । नागरिकलाई विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिन गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरी यस्ता शिविर सञ्चालनलाई निरन्तरता दिएको छ ।’’
खाँडादेवी गाउँपालिकाको वडा नं १ र २ का स्थानीयलाई लक्षित गरी सोमबार सो शिविर वडा नं १ को राकाथुम स्वास्थ्य चौकीमा पनि आयोजना गरिएको थियो । सो शिविरमा ८ सय ५० बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।
