रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको ८ महिनामा ५२ वटा विवाद समाधान गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनादेखि फागुन महिनासम्म उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिमा ५३ वटा विवादहरू दर्ता भएका छन् । दर्ता भएका ५३ वटा विवाद मध्ये ५२ वटाको मेलमिलापका माध्यमबाट समाधान गरिएको उमाकुण्ड गाउँपालिकाकी न्यायिक सहजकर्ता मनिका सुनुवारले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘चालु आर्थिक वर्षको हालसम्म उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिमा ५३ वटा विवादहरू दर्ता भएका छन् । यसमध्ये ५२ वटा विवाद मेलमिलाप मार्फत समाधान भइसकेका छन् । एउटाको प्रक्रिया चलिरहेको छ । न्यायिक समितिमा दर्ता भएका अधिकांश विवादहरू वडा तहकै मेलमिलाप केन्द्रबाट समाधान भएका छन् ।’’
उहाँका अनुसार न्यायिक समितिमा आएका विवादहरूको प्रकृति हेर्दा चरीचरण, गाली बेइज्जती, साध सिमाना र लेनदेनका बढी छन् । भौगोलिक विकटताका कारण उमाकुण्ड गाउँपालिकामा वडा तहको मेलमिलाप केन्द्र मार्फत न्यायिक समितिमा विवाद दर्ता गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा अहिले ६३ जना मेलमिलाप कर्ताहरू वडा तहमा सक्रिय छन् । उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले आफ्नो कामलाई अझै प्रभावकारी बनाउनका लागि चालु आर्थिक वर्षमा विनियोजित ३० लाख रुपैयाँ बजेटबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको न्यायिक सहजकर्ता सुनुवारले बताउनुभयो ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिमा आएका ५२ वटा विवाद समाधान
- प्रकाशित मिति: बुधबार, फाल्गुन ३० २०८०
- तामाकोशी