रामेछाप । रामेछापका सात हजार ८०० बढी बालबालिकाले दादुरा र रुबेला विरुद्धका खोप लगाएका छन । सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार रामेछाप जिल्लामा यो अभियान अन्तरगत ११ हजार ५७९ जना बालबालिकालाई दादुरा र रुबेलाका खोप लगाउने लक्ष्य थियो । दोस्रो चरणको अभियान सकिँदासम्म लक्ष्यको ६८.१५ प्रतिशत अर्थात सात हजार ८९१ जना बालबालिकाले दादुरा र रुबेला विरुद्धको खोप लगाएका छन । सबै भन्दा बढी जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा लक्ष्यको झन्डै ८० प्रतिशत र सबै भन्दा कम सुनापति गाउँपालिकामा लक्ष्यको झन्डै ४१ प्रतिशत बालबालिकाले दादुरा र रुबेला विरुद्धको खोप लगाएका छन । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा दुई हजार ७१७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा लक्ष्यको ७९.९२ प्रतिशत अर्थात दुई हजार १७० जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा संयोजक केशवराज फुयाँलले बताउनुभयो । पाँच वटा वडा रहेको सुनापति गाउँपालिकामा ८३७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ४०.८६ प्रतिशत अर्थात ३४२ जनालाई खोप लगाइएको गाउँपालिकाकी स्वास्थ्य शाखा संयोजक चिनीमाया बलले बताउनुभयो ।
यस्तै नौ वटा वडा रहेको रामेछाप नगरपालिकामा लक्ष्यको ६७.२० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । नगरपालिकाले एक हजार ८२० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा ६७.२० प्रतिशत अर्थात एक हजार २२३ जनालाई खोप लगाइएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णुबहादुर कार्कीले बताउनुभयो ।
नौ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा एक हजार २०० बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा ६० प्रतिशत अर्थात ७२० जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।
सात वटा वडा रहेको लिखुतामाकोशी गाउँपालिकाका ६०.१९ प्रतिशत बालबालिकामा दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ । एक हजार ३३३ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा ८०४ जना बालबालिकालाई मात्रै दादुरा र रुबेला विरुद्धको खोप लगाइएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक किशोरी प्रसाद साहले बताउनुभयो ।
सात वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा एक हजार २३३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यको ६४.५८ प्रतिशत अर्थात ७९६ जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले बताउनुभयो ।
छ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा लक्ष्यको ७४.१७ प्रतिशत बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ । एक हजार २७४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ९४५ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा संयोजक जागिर रायले बताउनुभयो ।
सात वटा वडा रहेको दोरम्बा शैलुङ गाउँपालिकामा लक्ष्यको ७६.३५ प्रतिशत बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ । एक हजार १६७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ८९१ जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको सूचना तथा सञ्चार प्रविधि अधिकृत आयुश कुमार लामाले बताउनुभयो ।
रामेछापमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकाका सबै वडामा फागुन १३ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । त्यसै गरी मन्थली नगरपालिका सहित उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाका सबै वडामा फागुन २१ गतेदेखि २३ गतेसम्म दोस्रो चरणको खोप सञ्चालन भएको थियो । अभियान अन्तरगत नौ महिना देखि पाँच वर्ष मुनिका सबै बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको हो ।
रामेछापका ७८ सय बढी बालबालिकालाई दादुरा र रुबेला खोप : प्रगति प्रतिशतमा मन्थली पहिलो, सुनापति अन्तिम
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५ २०८०
- तामाकोशी