११४ औँ अन्तराष्ट्रिय महिला दिवस : मन्थली नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २४ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले ११४ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले बिहीबार मन्थलीमा महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी बिषयक वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षता र रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको प्रमुख आतिथ्यतामा भएको वक्तृत्वकला प्रतियोगिता नगरपालिकाका विभिन्न वडाका ११ जना महिलाहरुले भाग लिएका थिए । प्रतियोगितामा महिला लघु उद्यमी समुह मन्थली नगरपालिका–१ की विनिता श्रेष्ठ पहिलो, हाते होजियारी समूहकी प्रमिला न्यौपाने दोस्रो र दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था मन्थलीकी सरिता खड्का तेस्रो हुनुभएको छ । प्रतियोगितामा अविरल महिला जागृत बचत तथा ऋण सहकारी संस्था मन्थली नगरपालिका–२ बाट सीमा अधिकारी सान्त्वना हुनुभएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगितालाई क्रमशः ७ हजार ५००, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । उक्त नगद पुरस्कार तथा प्रमाणपत्र कार्यक्रमकी अध्यक्ष एवं मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख अतिथि एवं रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले हस्तान्तरण गर्नुभएको थियो ।