रामेछापमा स्थानीय विवाद निरूपणमा मेलमिलाप केन्द्रको सक्रियता बढ्दै

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापमा स्थानीय स्तरमा उत्पन्न विवादहरूको मेलमिलापमा वडा तहमा रहेका मेलमिलाप केन्द्रको सक्रियता देखिएको छ । जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाले सबै वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलाप कर्ताहरूको व्यवस्थापन गरेका छन् ।
न्यायिक समितिहरूले वडा स्तरमा उत्पन्न भएका विवादहरूको वडा तहमै मिलाउने व्यवस्था गरेका छन् । पीडित पक्षले न्यायिक समितिमा निवेदन दिने र सोही निवेदनका आधारमा पीडक पक्षलाई डाकेर दुवै पक्षले छनोट गरेको सूचीकृत मेलमिलाप कर्तामार्फत विवादमाथि छलफल गरेर दुवै पक्षलाई जितको महसुस हुने गरी मेलमिलाप कर्ताहरूले विवादको किनारा लगाउने गरेका छन् । मेलमिलापका लागि आएका विवादहरूको प्रकृति हेर्दा जग्गा साध सिमाना, लेनदेन र गाली बेजतिका बढी छन् ।
जिल्लाको उमाकुण्ड गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म ४६ वटा विवादहरू मेलमिलापका लागि आएका छन् । यसरी आएका ४६ विवाद मध्ये ३८ वटा विवाद मेलमिलाप केन्द्रबाट समाधान भएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि माघ महिनासम्म उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिमा आठ वटा र वडाहरूमा रहेका मेलमिलाप केन्द्रमा ३८ वटा विवादहरू मेलमिलापका लागि आएको गाउँपालिकाका न्यायिक समितिका सदस्य कृष्णबहादुर सुनुवारले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘न्यायिक समिति र मेलमिलाप केन्द्रमा गरी ४६ वटा विवादहरू मेलमिलापका लागि आएका छन् । न्यायिक समितिमा आएका ६ वटा र वडा तहका मेलमिलाप केन्द्रमा आएका सबै विवादहरू मेलमिलापका माध्यमबाट निरूपण भएका छन् । विवादहरूको प्रकृति हेर्दा जग्गा साध सिमाना, लेनदेन र गाली बेजतिका बढी छन् ।’’ अहिले उमाकुण्ड गाउँपालिको वडा स्तरमा रहेका मेलमिलाप केन्द्रहरूले निकै सक्रियता र प्रभावकारी रूपमा वडा तहमा उत्पन्न भएका विवादहरूको निरूपण गरिरहेको सुनुवारले बताउनुभयो ।
रामेछाप नगरपालिकामा पनि यो अवधिमा ४२ वटा स्थानीय विवादहरू मेलमिलापका लागि आएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म गाउँपालिकाको न्यायिक समितिमा आएका ४२ विवादमध्ये ३६ वटा विवादहरू वडा स्तरका मेलमिलाप केन्द्र र ३ वटा विवाद न्यायिक समितिबाट मिलापत्र भएको रामेछाप नगरपालिकाकी न्यायिक सहजकर्ता बिन्दा मगरले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म जिल्लाको गोकुलगंगा गाउँपालिकामा ३७ वटा विवादहरू उत्पन्न भएका छन् । यो अवधिमा गाउँपालिकाको न्यायिक समितिमा आएका ३७ वटा विवाद मध्ये वडा स्तरका मेलमिलाप केन्द्र मार्फत ३१ वटा र न्यायिक समिति मार्फत ४ वटा विवादहरू समाधान भएको गरेको गाउँपालिकाकी न्यायिक सहजकर्ता शर्मिला कार्कीले बताउनुभयो । अहिलेसम्म न्यायिक समितिबाट समाधान हुने दुई वटा र मेलमिलाप केन्द्रबाट समाधान हुने एउटा विवादहरू प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा चालु आर्थिक वर्षको हालसम्म ३० वटा विवादहरू मेलमिलापका लागि आएका छन् । नगरपालिकाको न्यायिक समितिमा २७ वटा र वडा स्तरका मेलमिलाप केन्द्रमा ३ वटा विवादहरू आएका छन् । जसमा अहिलेसम्म न्यायिक समितिमा आएका ६ वटा विवाद र मेलमिलाप केन्द्रमा आएका सबै विवादहरू मेलमिलापका माध्यमबाट समाधान भएको मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायले बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा रहेका ८ वटा विवादहरू तामेलीमा र १३ वटा विवादहरू प्रक्रियामा छन् ।