रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले माझी जातिको प्रमुख पर्व कोसी पूजा अर्थात् लदी पूजामा स्थानीय बिदा दिएको छ । स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै गाउँपालिकाले फागुन १५ गते मङ्गलवार लदी पूजाको दिन माझी समुदायको कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरत सबैलाई स्थानीय बिदा दिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘कोसी पूजा अर्थात् लदी पूजा माझी समुदायको प्रमुख पर्व हो । त्यसैले स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै यो दिन माझी समुदायका कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरतलाई स्थानीय बिदा दिइएको छ ।’’
यसरी मनाइन्छ लदी पूजा
लदी पूजा अर्थात् कोसी पूजा माझी जातिको प्रमुख पर्व हो । यो पर्व माझी जाति प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलवार खोला, नदी अथवा पानीलाई पूजा गरेर मनाउने गर्दछन् । यो पर्वको दिन माझी समुदायका मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गर्दछन् । त्यसपछि आ–आफ्नो घरबाट नजिकको कोसी, खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गर्दछन् । यो दिनमा कोसीलाई विशेष रूपले पूजा गरिन्छ। पूजामा विशेष विधिबाट तयार गरिएको थानमा कुखुरा, हाँस र परेवा लगायत जीवको बलिको साथ थानमा फुल–अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिन माझी समुदायले आफ्ना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गरी नाचेर, गाएर रमाइलो गर्ने पनि परम्परा छ । पानी र माझीबिच मामा भान्जाको नाता भएकोले माझी समुदायलाई नदीले नवगाओस भनी नदी र देवीको पूजा गर्ने चलन रहेको छ ।
